कतार विश्वकप २०२२ लाई एक ट्याक्सी चालक भएर नियाल्दा

 पुष ८, २०७९ शुक्रबार १२:९:९ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

उदेश खतिवडा, गल्छी धादिङ/हाल कतार ।

हामी नेपालीहरूको कर्मभूमि कतारले फिफा विश्वकप २०२२ आयोजक राष्ट्र बनेर भव्य र सभ्य रूपमा सम्पन्न गरिसकेको छ । 

फुटबलको महाकुम्भ मेलामा लियोनेल मेस्सीको कप्तानी रहेको टिम अर्जेन्टिनाले टिमले फ्रान्सलाई पराजित गर्दै विजेता बनेर ट्रफी उचाल्यो । 

म आजभन्दा करिब १० वर्ष अघि वैदेशिक रोजगारीको लागि म कतार प्रवेश गर्दा २०२२ को विश्वकप आयोजना गर्न कतारले फिफाबाट अनुमति पाएको २ वर्ष भएको थियो ।

त्यति बेला अचम्म र खुसी एकै पटक लागेको थियो । भौगोलिक हिसाबले यति सानो राष्ट्र त्यहाँ माथि भर्खर विकासका पूर्वाधारहरू खडा हुँदै थिए ।

त्यो बेलासम्म बसिन्छ बसिन्न, खेल हेर्न पाइन्छ या पाइन्न, टिकटको मूल्य कति पर्ला यस्तै जिज्ञासा थियो मनमा ? यहाँ विश्वकप सुरु भएपछिको माहौल कस्तो होला ? टिकट पाइयो भने हेर्ने समय मिल्ला कि नमिल्ला यी यावत् कुराहरू मनमा खेलिरहन्थ्यो ।

आज यी सबै सपनाहरू साह्रै हर्ष, खुसी र उमङ्गका साथ पूरा भएको छ । यसमा मैले आफूलाई भाग्यमानी ठान्छु । 

यही विश्वकपको दौरानमा मैले ट्याक्सी (उबर, करिम)सेवा दिने अवसर पाएँ । विश्वका लगभग सहभागी टिम र हेर्न आउनेहरू गरेर सयौँ हजार मानिसहरू थिए होलान् ।  त्यसमध्ये अमेरिका, अस्ट्रेलिया, फ्रान्स, जापान, जर्मन, मोरक्को, उरुग्वे, सेनेगल , ईक्वेडर, क्यामरुन, पोर्चुगल, ब्राजिल, लगायत थुप्रै देशका दर्शकहरूलाई  मैले पनि सेवा दिने मौका पाएँ ।

 म कुन देशको हो । मेरो गाडी भित्र प्रवेश गर्ने जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्छ । गाडीको अगाडी चन्द्र सूर्य अङ्कित नेपालको सान राष्ट्रिय झण्डा टाँसेको छु ।

त्यो कारण सिधै नेपाली भन्ने पहिचान हुन्थ्यो ।  मिठा मिठा कुराकानीबाट गरिन्थ्यो । 

तिमी त विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देशको मान्छे, तिमी गौतम बुद्ध जन्मिएको देशको मान्छे, तिमी अरू देशसँग कहिल्यै पराधीन नभएको देशको मान्छे, तिम्रो आफ्नै स्वाधीनता आफ्नै मौलिक सांस्कृतिक विविधता भएको देशको मान्छे, विश्वको सबैभन्दा फरक आकारको राष्ट्रिय झण्डा भएको देशको मान्छे, प्राय नेपालीहरू सहयोगी, इमानदार, कर्तव्य निष्ठ र बफादार हुन्छन् आदि इत्यादि तारिफ उनीहरूले गरे ।

कसैले भने मलाई नेपाल देश र नेपाली मन पर्छ । कसैले भने मैले नेपाल घुमी सकेको छु । तिम्रो देश प्राकृतिक सुन्दरताले भरिपूर्ण सुन्दर छ । कसैले भने मर्नु भन्दा अगाडि तिम्रो देश एक पटक घुम्ने रहर छ । 

घुमी सकेकाहरूलाई मैले पनि सोधेँ ‘नेपालमा कहाँ कहाँ जानुभयो ? के के खानुभयो ?’

‘मेरो देशको कुन कुराले तपाईँलाई धेरै लोभ्यायो ?’ मेरा यी प्रश्नमा उनीहरूको जवाफ थियो, काठमाण्डौ, पोखरा, धरान, मुक्तिनाथ आदि । 

खानामा नेपाली दालभात, तरकारी, अचार खाइयो ।

सबैले एउटै कुरा भने ‘नेपालको सबै कुरा सुन्दर छ, एउटा चिजको मात्र तारिफ गर्दा अरू कुरालाई अन्याय हुन्छ ।’ 

घुम्न चाहनेलाई मैले भने हाम्रो देशमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ । जो घुमिसके, जसले नेपालको बारेमा कुरा गरे उनीहरूलाई पनि मेरो देश पुग्नुभएकोमा धन्यवाद दिएँ । पराई देशमा पसिना बगाउँदै तारिफ आफ्नो देशको सुन्न पाउँदा क्षण पनि सच्चै गर्व गर्न लायक नै हुने रहेछ । छाती चौडा हुने रहेछ । मन पनि खुसीले होला फूलको थुङ्गा जस्तै हलुङ्गो भयो । ज्यान पनि एक किलो कपास जस्तै हलुका भएको महसुस भयो । 

तर जब देशको राजनीति, बेरोजगारी र बेथितिकै कारण रोजीरोटीको खोजीमा विदेश आउनु परेको बाध्यता सम्झेँ मन यसै भारी भयो । घर परिवार र दसैँ छाड्न पर्दाको बाध्यताले मन चसक्क दुख्यो । मनले मनैसँग भन्यो ‘यही काम पनि राम्रोसँग आफ्नै देशमा गर्ने वातावरण भएको भए ।’

जे भए पनि मातृभूमि भनेको मातृभूमिको । जसको कुरा गर्दा मात्रै पनि मन फुरुङ हुन्छ । अझ अरू देशका मानिसले तारिफै गरिदिए । त्योभन्दा मलाई अरू के चाहियो र । बाध्यताको भारी त उठाउनु छदै छ । 

तर मेरो कर्म भूमि पनि कोही भन्दा कम छुइन भनेर यसपालि देखाइदियो । विभिन्न देशबाट फुटबल हेर्न मात्र पाहुना र खेलाडीको लागि बस्नका लागि बनाइएको होटेल र अपार्टमेन्टहरू देख्दा मात्रै पनि मन रमायो । आहा कति राम्रो व्यवस्थापन । यही देशमा, यही समयमा काम गर्ने मौका मिलेकोमा मेरो मन आफैँसँग रमायो । 

जताततै फुटबलको रौनक । केही स्थानमा सडक बन्द गरेर पैदल यात्रीहरूका लागि छुटाइएको रमणीय समुद्री किनार, पार्क, फ्यान जोन लगायत घुम्ने ठाउँहरू ।  जोसँग टिकट छैन, जसले स्टेडियमसम्म गएर हेर्न सक्दैनन् उनीहरूका लागि छुटाइएको फ्यान जोन कति राम्रो । जहाँ बसेर रङ्गशाला भित्रै भएको अनुभव गर्दै फुटबल हेर्न पाइने । 

त्यहाँ पनि होटेल, रेस्टुरेन्ट र किराना पसलहरू थियो । सरकारीतर्फबाट दिइएको फ्री मेट्रो बस, ट्याक्सी सेवा जसलाई बन्द क्षेत्र भित्र पनि गएर यात्रु चढाउन र ओराल्न छुट थियो ।

बाँकी करिम, उबर लगायतका ट्याक्सी सेवालाई केही ठाउँमा निषेधित भए पनि यात्रुहरू चढाउने र ओराल्नको लागि छुट्टै व्यवस्था गरिएको थियो । बाहिरबाट आउने आगन्तुक पाहुना र देश भित्र विभिन्न पेसा व्यवसाय गरेर बस्ने सम्पूर्णले यसको भरपुर फाइदा उठाउनु भयो । 

सुरक्षा व्यवस्था एकदमै कडा, बाटो काट्ने आम नागरिकहरूका लागि हातमा डोर्‍याएर समेत बाटो काट्न सहयोग गर्नुहुने सुरक्षाकर्मीहरू प्रति सलाम नगरी बस्न त यो मनले मान्दै मान्दैन । 

मेरो बितेका दश वर्षको अथक मेहनत परिश्रम र रोजी रोटीमा सायदै म खुसी हुनबाट चुकेको थिएँ होला । तर एक महिनाको यो विश्वकपले दिएको रौनकले मेरो जीवनमा लाखौँ गुणा बढी खुसी थप्यो ।

यस्तो सुनौलो दिन मेरो जीवनमा फेरि फर्केर आउला नआउला, नयाँ नयाँ  मान्छेहरूसँगको भेट र संवाद यति मिठो होला या नहोला । तर यस पटकको विश्वकप एक साक्षी हुन पाउँदा आफूलाई भाग्यमानी पनि ठानेको छु ।

नयाँ ज्ञान, नयाँ मानिससँग भेटघाट र उनीहरूसँगको गफगाफबाट धेरै कुरा सिक्ने र जान्ने मौका पाएँ । कर्मभूमिमा धेरै कुरा देख्न पाएँ । यसलाई मैले भाग्यको कुरा ग्रहण गरेको छ । 

नयाँ ज्ञान लिने मौका मनमा रहेका केही जिज्ञासा र खुल्दुली मेटाउने उचित समयलाई मैले अहो भाग्यको रूपमा ग्रहण गरेको छु । त्यसैले पनि एक पटक फेरि भन्छु, मलाई यो अवसर दिएकोमा धन्यवाद कतार सरकार । 

(लेखक खतिवडा कतारमा कार्यरत हुनुहुन्छ ।)

1 Comments

  • सन्जय श्रेष्ठ

    Dec. 23, 2022, 2:19 p.m.

    एकदम राम्रो लेखन दादा , यो लेखले वर्ल्ड कपको धेरै मीठो याद दियो/

तपाईको प्रतिक्रिया