वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि निःशुल्क सीपमूलक तालिम

 माघ ९, २०७९ सोमबार १४:२२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – के तपाईं वैदेशिक रोजगारीमा जान खोज्दै हुनुहुन्छ र कुनै सीप सिक्ने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने नेपाल सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई निःशुल्क सीप सिकाउँदै आएको छ । तपाईं पनि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने सीपमूलक तालिम लिएर दक्ष जनशक्तिको रुपमा वैदेशिक रोजगारीमा जान सक्नुहुन्छ । आफूसँग सीप भएपछि वैदेशिक राजगारी थप सुरक्षित हुन्छ । काम र कमाइ पनि राम्रो हुन्छ । 

बोर्डले यो आर्थिक वर्षको लागि विभिन्न १७ वटा विषयमा एक सय ६० घण्टे तालिम दिन लागेको हो । बोर्डका अनुसार १८ वर्ष उमेर कटेका नेपाली नागरिकले तालिम लिन सक्छन् । तालिम लिन इच्छुक व्यक्ति वैदेशिक रोजगारीमा जाने हुनुपर्ने बोर्डकी सूचना अधिकारी मैयाँ कडेल बताउनुहुन्छ ।

‘याे तालिम वैदेशिक रोजगारीमा जानेहरुको लागि भनेर प्रदान गर्न लागिएको हो, यो निःशुल्क तालिम लिन साथमा पासपोर्ट हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘कसैको पासपोर्ट बन्ने प्रक्रियामा पनि हुनसक्छ, त्यस्तो अवस्थामा केही न केही प्रमाण वा सिफारिस आवश्यक पर्छ ।’ 

सहायक एल्युमिनियम फैब्रिकेटर, सहायक स्काफफोल्डिङ, टाइल मार्बल फिक्स्चर, वेल्डर, इलेक्ट्रिसियन, गार्मेन्ट मेसिन अपरेटरमध्ये आफूलाई मन पर्ने तालिम लिन सक्नुहुन्छ । यस्तै, फ्रन्ट अफिस सहायक, हाउसकिपिङ, हाउस पेन्टर, फर्निचर मेकर, किचेन हेल्पर, मेसन, शटरिङ कार्पेन्ट्री, स्टील फिक्सर र वेटरको तालिम पनि लिन सक्नुहुन्छ । 

इलाम, तेह्रथुम, झापा, महोत्तरी, सिराहा, स्याङ्जा, बाग्लुङ, पाल्पा, पोखरा, नुवाकोट, काभ्रेपलाञ्चोक, पोखरा, चितवन, गुल्मी, रुकुम, जाजरकोट, बाँके, दाङ, डोटी र कञ्चनपुरमा तालिम प्रदान गरिन लागेको हो । यी जिल्लामा रहेका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा आबद्ध शिक्षालयबाट यी तालिम सञ्चालन हुनेछन् । आफूलाई अनुकुल हुने र आफूले सिक्न चाहेको तालिम लिनको लागि तालिम प्रदायक शिक्षालयमा सम्पर्क गर्न पनि बोर्डले आग्रह गरेको छ ।

हेर्नुहोस् सूचना :

2 Comments

  • Khim bahadur khatri

    Feb. 6, 2023, 9:33 p.m.

    म इलेक्टि्कल तालीम लिन चाहान्छु बुटवल बस्छु

  • Mukunda Dhakal

    Jan. 23, 2023, 8:59 p.m.

    म सेक्युरिटी तालीम लिन चाहन्छु के यो तालिम उपलब्ध छ?

तपाईको प्रतिक्रिया