युरोप आउन लाखौँ खर्च गर्नुअघि १० पटक सोचौँ

 बैशाख १४, २०८० बिहिबार १३:१३:३४ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

एलिसराज सन्जेल/हेटौँडा, हाल माल्टा ।

दुःखको गहिरो समुद्र पार गर्दै अहिले म रोजगारीको सिलसिलामा युरोपियन देश माल्टा आइपुगेको तीन महिना भयो । यहाँ आउनका लागि मैले लामो सङ्घर्ष र प्रतीक्षा गर्न पर्‍यो । नेपालबाट सिधै आउनका लागि निकै कोसिस गरेँ ।

डेढ दुई सालसम्म प्रतीक्षा पनि गरेँ । तर यो अवधिमा मैले आशा मात्र पाएँ । काम कतै पनि हुने देखिनँ । 

नेपालबाट नै प्रक्रिया गरेर आउन सक्छु जस्तो नलागेपछि म अघिल्लो साल रोजगारीकै लागि खाडीको देश यूएई आएँ । यूएईमा काम गर्दै त्यहीबाट माल्टाको प्रक्रिया अघि बढाएँ । तर यूएईबाट पनि सहजै यो बाटो तय भएको चाहिँ हैन ।

झण्डै एक वर्ष लामो समय लाग्यो । विभिन्न प्रक्रियाहरू गरियो । मेहनतको फल पनि पाइयो भनौँ होला अहिले युरोप आइपुगेको छु । तर यहाँ आएपछि मलाई भएको अनुभव के हो भने हामी युरोपका बारेमा जस्तो कुराहरू सोचेर आउँछौँ सोचेजस्तो नहुने रहेछ ।

हुन त जहाँ गए पनि काम त गर्नै पर्‍यो । काम अनुसारको दुःख त देश जस्तो भए पनि भइनै हाल्छ । माल्टा पर्यटकीय देश हो । यहाँ पर्यटकहरू जति आयो काम पनि त्यति नै चल्ने रहेछ ।

तर यहाँ आएर पनि काम पाउने गरी कागजातको प्रक्रिया मिलाउन भने खाडी र मलेसियाकोभन्दा नियम फरक हुँदो रहेछ ।

जस्तै खाडी मलेसियामा त कुनै कम्पनीमा गएपछि कागजात मिलाउने सबै काम कम्पनीले नै गरिदिन्छन् । तर यहाँ भने सबै प्रक्रिया आफैँ गर्न पर्ने रहेछ ।

जुन मैले पनि आफैँ गरेँ । भ्याक्सिन लगाउनेदेखि इन्स्योरेन्सको कामसम्म आफैँले नै गर्नु पर्‍यो । सबै कागजात तयार पारेर यहाँ काम गर्नका लागि अनुमति पाएपछि मात्रै काम गर्नुपर्ने रहेछ । तर यहाँ कतिपयले साथीहरूले कागजात पूरा नगरी काम गर्नुहुने रहेछ ।

मेरो सुझाव तपाईँहरू जो पनि नयाँ आउनुभएको छ भने कागजात पुरा नगरी काम नगर्नुहोस् । यदि जाँच गर्ने क्रममा भेटियो भने त्यत्तिका दुःख गरेर आएको मेहनत बालुवामा पानी खन्याए सरह हुन्छ ।

विदेशमा त आफ्नै देशका दाजुभाइलाई पनि विश्वास गर्न नहुने रहेछ । केही समय अघिको कुरा हो । एक जना नेपाली बहिनीले यहाँ आइपुगेर कागजात बनाउने क्रममा नेपाली दाइलाई नै विश्वास गर्नुभए छ । तर ती नेपालीले इन्स्योरेन्सको कागज नक्कली बनाइदिएछन् । यसरी नक्कली कागजात यहाँको सम्बन्धित निकायमा पेस हुँदा त्यो बहिनीलाई समस्या पर्‍यो ।

भाषाको कारणले हो या अन्य केही कारण थियो उहाँले आफूले को बाट सहयोग लिएको हो र भएको के हो भनेर बताउन सक्नुभएन । फलस्वरुप उहाँलाई झण्डै पाँच महिना जेल राखेर नेपाल पठाइदियो । त्यसैले हुन सक्ने यस्ता ठगीबाट पनि बच्न पर्ने रहेछ । 

यहाँ आउनका लागि जो पायो त्यही मानिसलाई विश्वास गर्न नहुने रहेछ । अलिकति विश्वासिलो एजेन्सीबाट मात्र प्रक्रिया गर्नु पर्ने रहेछ । यदि आफूसँग त्यो खालको क्षमता छ भने हामी आफैँले पनि यहाँको कम्पनीमा पाइने काम र सेवा सुविधाका बारेमा जान्न र बुझ्न सकिने रहेछ । आजकाल त अनलाइनमा नै सबै कुरा उपलब्ध हुने रहेछ ।

अर्को कुरा विदेश आउँदा माल्टा मात्र होइन जुनसुकै देशमा जानका लागि पनि ज्ञान चाहिँ लिएर जान पर्ने रहेछ । भाषाको सामान्य ज्ञान भएन भने गन्तव्यमा आइपुगेपछि के गर्ने गाह्रो पर्न सक्ने रहेछ । युरोपका कुनै पनि देश आउँदै हुनुहुन्छ भने सामान्य भाषाको ज्ञान लिएर आउनुहोस् । 

तपाईँ हामी धेरैलाई लाग्छ युरोप आएपछि टन्न पैसा कमाइन्छ । यहाँ आएर आफैँले अनुभव नगर्दा मेरो मनमा पनि कहीँ कतै यही आशा थियो । तर त्यस्तो हुँदैन । यहाँ दिनमा आठ घण्टा र महिनामा १६० घण्टा मात्र गर्ने हो भने ८६० युरो बेसिक तलब हुने रहेछ । त्यसमा कम्पनीले केही घण्टा ओभर टाइम काम गर्न दियो भने अलिअलि बढी हुन्छ । तर अब यो कमाइमा खर्च पनि त्यही अनुसार हुन्छ । 

यो कमाइबाट बस्ने कोठाका लागि दुई सयदेखि दुई सय ५० युरोसम्म खर्च हुन्छ । त्यसपछि अर्को भनेको यो आम्दानीको कर पनि तिर्न पर्छ । ८० देखि एक सय युरोसम्म हुनसक्छ कर बापतको रकम । अब खानाको कुरा गरौँ । खाना एकदमै सामान्य खान्छु भन्दा पनि १५० युरो त कम्तीमा खर्च हुन्छ ।

अब यसरी हेर्दा त बच्ने भनेको त्यही चार सय युरो लगभग हो । यो भनेको हामीले खाडी मलेसियामा कमाउने कमाइजस्तै हो । अझ दक्ष भएर सीप सिकेर जाने हो भने त खाडीमा योभन्दा राम्रो कमाई र बचत हुन्छ । किनकि धेरैजसो कम्पनीले खाने र बस्ने व्यवस्था गरेका हुन्छन् । 

आजकाल युरोपको सपनामा धेरै जना ठगिनुभएको छ । दुःख पाउनुभएको छ । गैरकानुनी बाटा हुँदै रातदिन हिँड्दै पनि आइरहनुभएको छ । त्यसका लागि लाखौँ रुपैयाँ एजेण्टहरुलाई बुझाउनुभएको छ । त्यसैले म त के भन्छु भने युरोप भनेर मात्र नहुने रहेछ । यहाँ आउनुभन्दा अघि १० औँ पटक सोच्नुहोस् । सोचेर मात्र निर्णय लिनुहोस् ।

भनेजस्तो र सोचेजस्तो मात्र पनि रहेनछ युरोप भन्ने मेरो आफ्नै अनुभव हो । म त अझ खाडीदेखि युरोपसम्मको अनुभव लिएको मान्छे हुँ । त्यस कारण म यही भन्छु युरोपका लागि १० औँ लाख रुपैयाँ खर्च गर्नुअघि १० पटक सोचेर मात्र निर्णय लिऔँ । 

3 Comments

  • pawan Pokharel

    April 29, 2023, 1:25 p.m.

    सारै चित्त बुज्यो यो लेख पढ्देै गर्दा अनी भन्न मन लाग्यो सबैले जापान जापान भन्छन जापान पनि तेस्तै छ राम्रो सङ्ग बुजेर आउनुस नत्र तपाईंको सपना सपना मात्रै नभइ सपना टुट्ने छ तेति बेला सारै नरमाइलो लाग्ने रहेछ जापान आउदै हुनुहुन्छ भने भाषा सिकेर कामदार भिषामा आउनुहोस कमाइ पनि राम्रो हुने र आफ्नो स्वास्थ पनि राम्रो रहने😥😥😥पवन पोख्रेल हाल जापान नागोया😥😥😥

  • Santosh rajbanshi

    April 29, 2023, 8:13 a.m.

    Thankyou your information brother.

  • Ashish Limbu

    April 28, 2023, 11:04 a.m.

    Very nice bro hami lai hajur Le Anubhav gareko kura share gardinu bha practical kura haru waha ko bare Mai jamkari dinu bha , hami Pani ab sochera samjhera matry aune chhu thank you

तपाईको प्रतिक्रिया