नेपालीको परिश्रमबाट कोरिया सरकार प्रभावित : राजदूत सुक

 माघ २५, २०७९ बुधबार १९:३८:५५ | रासस
unn.prixa.net

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता गर्नुभएको छ ।

उद्योग मन्त्रालयमा आज बुधवार भएको भेटमा उहाँहरूबीच नेपाल र कोरिया सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । सन् १९७४ मा नेपाल–कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

कोरिया सरकारले कोइकामार्फत नेपालको शिक्षा, स्वास्थ्य, ग्रामीण विकास र सूचना प्रविधिका क्षेत्रमा सहयोग गरिरहेको छ । भेटका क्रममा मन्त्री भण्डारीले सुदूरपश्चिम प्रदेश मानव विकासका दृष्टिले अन्य प्रदेशभन्दा पछाडि रहेको हुँदा सुदूरपश्चिममा पोलिटेक्निकल स्कुल, अस्पताल तथा विद्यालय भवन निर्माणमा सहयोग गर्न राजदूत सुकलाई आग्रह गर्नुभयो ।

निर्यातजन्य वस्तुको सम्भावना हुँदा हुँदै पनि नेपाली वस्तु कोरियामा निर्यात हुन नसकेको उल्लेख गर्दै मन्त्री भण्डारीले राजदूत सुकलाई नेपाली वस्तु निर्यातमा सघाउन आग्रह गर्नुभयो । उहाँले ऊर्जाका क्षेत्रमा कोरियाली लगानीकर्ताको चासो रहेको उल्लेख गर्दै लगानीका लागि आग्रह गर्नुभयो ।

मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाई लगानीकर्तालाई आकर्षण गर्न नेपाल सरकारले नीतिगत सुधारका कार्य गरिरहेको जानकारी गराउँदै राजदूत सुकलाई यसमा सकारात्मक योगदानका लागि आग्रह गर्नुभयो ।

राजदूत सुकले ईपीएस अन्तर्गत १५ हजार नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरिया सरकार प्रभावित रहेको बताउनुभयो । उहाँले मन्त्री भण्डारीलाई कोरियाली लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको अवगत गराउनुभयो । 

कोरियाली नागरिकलाई भिसा प्राप्तिमा सहजता प्रदान गरिनुपर्ने उल्लेख गर्दै उहाँले लगानीकर्ता र तिनको संरक्षणका लागि नेपाल सरकारको सहयोगको अपेक्षा गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया