जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

 वैशाख २१, २०८१ शुक्रबार १५:५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दुई हप्तासम्म चल्ने अभियानमार्फत् पोलियोविरुद्धको खोप ‘आइपीभी’ दिइनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।

पोलियोबाट बचाउन देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आइपीभी’ लगाइने उहाँको भनाई छ । पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको डा.गौतमले बताउनुभयो । उहाँका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन लागिएको हो ।

सन् २०१६ देखि २०१८ को बीचमा ‘आइपीभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ ।

नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया