वायु प्रदूषण बढेकाले सावधानी अपनाउन वातावरण विभागको अपिल

 वैशाख २१, २०८१ शुक्रबार १८:१९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ ।वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाँटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन् भने दीर्घकालीन रुपमा श्वासप्रश्वास, मुटु, गर्भावस्थामा जटिलतालगायतका विभिन्न स्वास्थ्य समस्या हुने गर्दछ । यसले विशेष गरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी, साथै गर्भावस्थाका महिला बढी प्रभावित हुने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन विभागले सबैमा अपिल गरेको हो । 

नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रबाट प्राप्त तथ्याङ्कले देखाएको छ । यस अवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आद्रता र सुक्खा मौसमजस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारणजस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारी साधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुवाँ धुलोबाट वायु प्रदूषण हुने गरेको पाइएको छ ।

हाल देशका अधिकांश भूभागमा डढेलो तथा आगलागीका घटना बढिरहेको तथा डढेलोको कारणले जनधनको क्षतिका विवरण प्राप्त भइरहेका विभागले जनाएको छ । भू–उपग्रहको तथ्याङ्क विश्लेषणबाट प्राप्त विवरणबमोजिम सन् २०२४ को शुरुआतदेखि हालसम्म एक हजार ६५३ डढेलो तथा आगलागीका घटना भएको देखिन्छ । पछिल्लो दिनमा डढेलो तथा आगलागीका घटना बढेसँगै नेपालको अधिकांश भूभागमा वायु प्रदूषण बढेको पाइएको छ ।

प्रदूषण बढी भएका स्थानमा घर बाहिर निस्कदा सबै नागरिकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न तथा वायु प्रदूषण बढाउने किसिमका क्रियाकलाप जस्तै फोहर बाल्ने, कृषिजन्य अवशेष बाल्नेलगायतका क्रियाकलाप नगर्नसमेत विभागको अनुरोध छ ।

सानो लापर्वाहीका कारण वन डढेलोले ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले सचेत हुनका साथै वन डढेलो नियन्त्रणका लागि जिम्मेवार निकायले सक्रियता बढाउन तथा सरोकारवाला निकायसँग हातेमालो समेत गर्न आम समुदायलाई विभागले अपिल गरेको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया