Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

315th Desh Paradesh 2018-07-10

कार्यक्रम देश परदेशको अंक ३१५ मलेसियामा काम गर्ने नेपालीका विषयमा केन्द्रित छ । अवैधानिक रुपमा मलेसिया बसेका नेपालीसहित सबै विदेशी कामदारलाई त्यहाँको सरकारले धमाधम पक्रन थालेको छ । मलेसियामा नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल र प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मलेसियाका संयोजक रामचन्द्र नेपालसित अवैधानिक नेपाली कामदारको अवस्था र धरपकडले पारेको असरबारे गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । यता नेपाल सरकारले स्वास्थ्य परीक्षण गर्दा मलेसिया जाने कामदारबाट भिएलएन नेपाल र वान स्टप सेन्टर जस्ता संस्थाले आफूखुशी पैसा उठाएको भन्दै त्यसलाई रोक्न कदम चालेको छ । सरकारको यो निर्णयपछि डेढ महिनादेखि नेपाली कामदार मलेसिया जान पाएका छैनन् । यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालसित गरिएको कुराकानी सुन्नु हुनेछ । नियमित स्तम्भ दिदीबहिनीका कुरामा सर्लाहीको लालबन्दीकी सुकमाया मोक्तानले हरहिसाव राख्न र आफैले पनि गाउँठाउँमै आयस्ताको काम गर्न थालेपछि सुध्रिएको व्यवहार समेटिएको छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप र तपाईंका जिज्ञासा, गुनासो, सल्लाह सुझाव रहनेछ ।