नागढुङ्गा सुरुङमार्ग छिचोलियो, एक वर्षपछि तीन मिनेटमै थानकोटबाट धादिङको सिस्नेखोला पुगिने

 बैशाख ३, २०८१ सोमबार १४:१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ 'ब्रेक थ्रु' अर्थात् छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष समारोहकाबीच आज सुरुङ छिचोल्ने काम भएको नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो । सुरुङ छिचोल्नका लागि दुई मिटर मात्र बाँकी रहेकोमा आज प्रधानमन्त्रीको उपस्थितिमा विस्फाेट गराएर छिचोल्ने काम भएको उहाँले बताउनुभयो ।

सुरुङ छिचोल्ने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय राजमार्गहरूमा सुरुङमार्ग, फ्लाईओभर तथा अन्डरपास निर्माणमा जोड दिने बताउनुभयो । उहाँले काठमाण्डाैबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगरलगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुनसक्ने द्रूतमार्गहरू बनाउनुपर्ने पनि बताउनुभयाे ।

नागढुङ्गा–सिस्नेखोला सुरुङले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने भन्दै प्रधानमन्त्री प्रचण्डले यसबाट सङ्घीय राजधानी काठमाण्डाै र देशका अन्य प्रमुख शहरहरूबीचको सहज यातायात सञ्जालमा योगदान पुर्‍याउने उल्लेख गर्नुभयो । राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्न मेहनत गरिरहेको भन्दै उहाँले केही दिनभित्र सुनकोशी मरिण डाइभर्सन सिँचाइ आयोजनाको पनि सुरुङ छिचोलिने बताउनुभयो ।

काठमाण्डौको चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ साढे दुई किलोमिटरभन्दा धेरै अर्थात् दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ भने गएको साउनमै छिचोलिसकिएको छ ।

मुख्य सुरुङ आज छिचोलिए पनि आयोजना निर्माण सम्पन्न भएर गाडी चल्न भने अझै एकदेखि डेढ वर्षसम्म लाग्न सक्ने उपनिर्देशक दुमरुले बताउनुभयो । सुरुङ सञ्चालनमा आएपछि काठमाण्डाैकाे थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ । अहिले काठमाण्डाैतर्फ बलम्बुबाट साढे आठ किलोमिटर दूरीमा पुगिनेमा अब सिस्नेखोला सुरुङमार्ग भएर जाँदा भने दुई किलोमिटर छ सय ८८ मिटरको दूरी तीन मिनेटमै पुगिने आयोजनाले जनाएको छ ।

आयोजना निर्माणको शुरुवाती सम्झौताअनुसार काम शुरु भएको ४२ महिनाभित्र अर्थात् गएको वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्थ्याे । थपिएको समयमा पनि काम नसकिएपछि आयोजनाको अवधि एक वर्ष थप्ने तयारी छ । आयोजनामा तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीन वटा पुल र एउटा फ्लाईओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाईओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान अर्थात् भेन्टिलेसन लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

२२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको छ अर्ब रुपैयाँ लगानी छ ।

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया