बाँकेको फत्तेपुरमा रहेको सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

 बैशाख ६, २०८१ बिहिबार १५:४३:२२ | रासस
unn.prixa.net

रासस

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा रहेको सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायिकरण परियोजनाअन्तर्गत २०७२ साल जेठ महिनामा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको हो ।

प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ । मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो बजार व्यवस्थापन हुन नसक्दा किसानले मेन्थाखेती गर्न छाडेपछि प्रशोधन केन्द्र बन्द भएको राप्ती सोनारी–६ फत्तेपुर जोरैयाका किसान चोमबहादुर पुनले जानकारी दिनुभयो ।

जोरैयामा मात्रै ताराबहादुर थापाको अध्यक्षतामा १८ जना मेन्थाखेती गर्ने किसानले समूह बनाएर सुगन्धित तेल उत्पादन गर्दै आएका थिए । परियोजना सकिएपछि समूहले तेल उत्पादन र बिक्री वितरण गर्न नसकेपछि किसानले घाटा व्यहोर्नुपरेको थियो । मेहनत गरेर उत्पादन गरेको मेन्थाबाट तेल प्रशोधन गरी नेपालगञ्ज पुर्‍याउँदा मूल्य सुनिश्चित नहुने र बजारसमेत नपाउने भएपछि किसानले चार–पाँच वर्षमै मेन्थाखेती गर्न छाडेको स्थानीय अगुवा लालबहादुर थापाले बताउनुभयो ।

परियोजना सञ्चालन हुँदा फत्तेपुरमा मात्रै ८० बिघा जमिनमा मेन्थाखेती विस्तार भएको थियो । फत्तेपुरलाई मेन्थाखेतीको पकेट क्षेत्र बनाउने भन्दै किसानले खेती बढाउन जडीबुटी उत्पादन समूहसमेत गठन गरेका थिए । गहुँ–मसुरो भित्र्याएपछि खाली जमिनमा मेन्थाखेती गरिन्छ । मेन्थाका लागि पानी आवश्यक परे पनि स्याहारसुसार त्यति धेरै गर्नु नपर्ने फत्तेपुर सर्राका किसान रामगोपाल मौर्यले बताउनुभयो । 

पशु चौपायाले मेन्था नखाने भएकाले गर्मीमा खेती उपयुक्त भए पनि मेन्थाबाट प्रशोधित तेलले बजार र मूल्य नपाएपछि आफूहरूले खेती गर्न छाडेको उहाँको भनाइ छ । युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, आइडिइ नेपाललगायतका सङ्घसंस्थाको साझेदारीमा कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायिकरण परियोजनाअन्तर्गत सुगन्धित तेल प्रशोधन केन्द्र स्थापना भएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया