जसपामा फुट : उपेन्द्र यादव र माधव नेपाल जिल्ल, प्रचण्ड र ओलीलाई हाइसञ्चो !

 बैशाख २४, २०८१ सोमबार १८:२:४२ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – केही दिन अघिसम्म नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू पनि प्रधानमन्त्री बन्न सक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक कार्यक्रमबाटै घुर्क्याइरहनु भएको थियो ।

नेपालले भन्नुभएको थियो, ‘हामी प्रधानमन्त्री बन्छाैँ कि भनेर कतिपयलाई पोल्न थालेको छ, कतै प्रधानमन्त्री बनिहाल्छ कि भन्ने डाहाले जलिरहेका छन्, उनीहरूलाई पोले पोलोस्, डाहाको आगोले पोलिदेओस् । त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ । परिस्थिति हाम्रो अनुकूल बनाउने कुरामा हाम्रो ध्यान जानुपर्छ, यो स्वाभाविक हो ।’

तर एकाएक परिस्थिति माधव नेपालको अनुकूल होइन, प्रतिकूलमा जाने लक्षणहरू देखिएका छन् । नेपाली कांग्रेससँग मिलेर नयाँ गठबन्धनको सरकार बनाउने अनि शेरबहादुर देउवा मात्र होइन माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत आलोपालो प्रधानमन्त्री बन्नेगरी भित्रभित्रै खिचडी पाकिरहेको शङ्का थियो । त्यही भएर त माधव नेपालले अहिलेको सत्ता गठबन्धनलाई घुर्क्याउनसमेत पछि पर्नुभएन । तर पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली पनि राजनीतिका पाकै खेलाडी हुन् । कुन अवस्थामा कुन गोटी चाल्नुपर्छ भन्ने प्रष्टै बुझेरै होला ओली र प्रचण्डले उल्टै माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव दुवै जनालाई जिल्ल बनाउनेगरी जसपा पार्टीभित्र खेलेर विभाजनसम्म पुर्‍याई दिएको चर्चा छ ।

१२ सिट रहेको जसपा फुटेपछि अब उपेन्द्र यादव पक्षले समर्थन फिर्ता लिए पनि अहिलेकै सत्ता गठबन्धनको बहुमत रहिरहने अनि कांग्रेसको नेतृत्वमा बन्ने सम्भावित नयाँ गठबन्धनको बहुमत नपुग्ने देखिन्छ । अहिले जसपा फुट्दा एकातिर अर्को गठबन्धन र सरकार बन्ने सम्भावना तत्काललाई सकिएको छ । अर्कोतिर, प्रधानमन्त्री ताकेर बसेका एकीकृत समाजवादी र जसपाका अध्यक्ष यादव पक्ष यता न उता हुने देखिन्छ । उपेन्द्र यादवको पहिलेदेखिको थिचोमिचो अनि केन्द्रदेखि प्रदेशसम्म गठबन्धन हेरफेर गरेर अस्थिरता ल्याउन खोजेकाले नयाँ दल दर्ताको निवेदन दिएको बताउनुहुन्छ, जसपाका नेता मोहम्मद इश्तियाक राई ।

‘झट्ट हेर्दा अहिलेको परिस्थिति एकाएक विकास भएको जस्तो देखिन्छ तर उपेन्द्र यादवजीलाई हामीले वर्षाैँदेखि सचेत बनाइरहेका थियौँ, उहाँले टेर्नुभएन, मैमत्त हुनुभयो, त्यसैको परिणाम हिजो आइतवार देखिएको हो’, उहाँले भन्नुभयो ।

हुन पनि हो, उपेन्द्र यादवलाई कुनै बेला जयप्रकाश गुप्ता, विजयकुमार गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय, अशोक राई, बाबुराम भट्टराई लगायतका नेताहरूले 'सिनियर' नेता मानेर जसपामा आबद्ध भएका थिए । तर विभिन्न समयमा सबै नेताले यादवलाई छाडेर गए । महिनैपिच्छे गठबन्धन परिवर्तन हुने र केन्द्रदेखि प्रदेशसम्मका सरकार परिवर्तन भएर नागरिक वाक्क भएको बेला उपेन्द्र यादवले अहिले फेरि सरकार परिवर्तन गर्न लागेकाले पनि नयाँ दल दर्ता गर्नुपरेको मोहम्मद इश्तियाक राईको भनाइ छ ।

‘नयाँ गठबन्धन बनेको धेरै भएको छैन, कतिपय प्रदेशमा मुख्यमन्त्रीहरूले बल्ल विश्वासको मत लिँदैछन्, यता केन्द्रमा सत्ता तलमाथि हुँदा प्रदेशमा पनि फेरबदल हुन्छ । यस्तो प्रवृत्तिले नागरिकमा लोकतन्त्र र सङ्घीयताप्रति नै वितृष्णा पैदा हुन्छ, समग्रमा बुझ्दा हामीले यो प्रणालीको रक्षा गर्न पनि उपेन्द्र यादवलाई छाड्नुपर्ने अवस्था आयो’, जसपाका नेता राईले भन्नुभयो ।

उपेन्द्रको लोभले गर्दा उनैलाई सङ्कट : लोकराज बराल

विगतमा नेताहरूले छाड्दा खासै समस्यामा नपरेका उपेन्द्र यादव पदकै लोभका कारण यस पटक भने समस्यामै परेको बताउनुहुन्छ, राजनीतिक विश्लेषक लोकराज बराल ।

‘उपेन्द्रजीको बारेमा विगतमा पनि धेरै कुराहरू आइरहेकै हुन्, सत्तामा जान पाएपछि उहाँले पार्टीका सिद्धान्त, नीति नियम केही हेर्नुहुन्न, उहाँको साह्रै लोभी प्रवृत्ति उहाँकै लागि घातक बनेको देखिएको छ’, बरालले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘यादवको लोभी प्रवृत्तिकै कारण पार्टीमा नेताहरू टिक्न सक्दैनन् भन्ने हल्ला सुनिन्छ, महन्थ ठाकुरदेखि बाबुराम भट्टराईसम्मका नेताहरू पनि कुनै समय जसपामै थिए तर उपेन्द्र यादवकै कारण बाहिरिएको त सत्य हो नि ।’

मधेश केन्द्रित दल र नेताहरूमा सत्ताको लोभ र महत्त्वाकाङ्क्षा पहिलेदेखिकै रोग भएको र यो रोगले पछिल्लो पटक उपेन्द्र यादवलाई छोएको विश्लेषक लोकराज बरालको टिप्पणी छ ।

‘अहिले जसपा फुट्दा कतातिर बहुमत पुग्छ वा पुग्दैन भनेर हेर्नुभन्दा पनि साना दलले कसरी अस्थिरता पैदा गर्न खोजिरहेका छन् र बार्गेनिङ गरिरहेका छन् भन्ने कुरा प्रष्टै देखिएको छ, साना दलका कारण ठूला दल हैरान हुने तथा सत्ता र शक्ति नै फेरबदल भइरहने समस्या अझै केही वर्ष रहिरहने देखिन्छ’, बरालले भन्नुभयो ।

जसपाको फुटले प्रचण्ड र ओलीलाई हाइसञ्चो !

सरकार चलाउन बहुमत अर्थात् एक सय ३८ जना सांसद चाहिनेमा अब जसपा फुटे पनि र एकीकृत समाजवादीले छाडे पनि अहिलेको सरकार नै बहुमतमा रहने देखिन्छ । किनकि १२ जना सांसद भएको जसपाका सात जनाले नयाँ दल दर्ताका लागि दिएकाे निवेदन स्वीकृत गर्दै निर्वाचन आयाेगले नयाँ दलकाे मान्यता दिइसकेकाे छ । नयाँ दलका सात जनाले अहिलेकै सरकारलाई समर्थन रहेको बताएका छन् । तर एक जनाले भने आफू उपेन्द्र यादवकै पक्षमा रहेको बताएका छन् । एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २१, जसपा फुटेर बन्ने नयाँ दलका सात जना जोड्दा एक सय ३९ सिट पुग्छ । त्यसमाथि उपेन्द्र यादव बाहिरिनेबित्तिकै चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा आउने सम्भावना छ । तीन सिट रहेको नागरिक उन्मुक्ति पार्टी पनि अहिलेकै सरकारको पक्षमा छ । त्यसैले तत्काललाई हेर्दा जसपाको फुटले अहिलेको गठबन्धन सरकारलाई भन्दा पनि वैकल्पिक गठबन्धन र सरकार बनाउन कोशिश गरिरहेकाहरूलाई गाह्रो पर्ने देखिन्छ ।

नागरिकमा वितृष्णा

नेपालमा सरकार कति बेला फेरिन्छ पत्तै हुन्न भन्ने कुरा त आममानिसले प्रष्टै बुझेका छन् । त्यही सरकारको हानथापका कारण अब दलहरू पनि कति बेला फुट्छन् भन्ने टुङ्गो हुन छाडेको छ । यसैको पछिल्लो उदाहरण हो, जसपाको विभाजन । सत्ताको लेनदेनमा कुरा नमिल्दा यसअघि २०७८ सालको भदौमा नेकपा एमाले फुटेर एकीकृत समाजवादी बनेको थियो । पछिल्लो दुई वर्षमा जनता समाजवादी पार्टीमा दुई पटक विभाजन आएको छ । दलहरू फुट्दा धेरैले सरकारको बहुमतलाई ध्यान दिएका छन् । तर यस्ता प्रवृत्तिले नागरिकमा वितृष्णा ल्याउने र दलीय व्यवस्थालाई नै कमजोर बनाउने काम भइरहेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया