एपेक बैठक : चीन–अमेरिका विवादले घोषणापत्र जारी भएन

 मंसिर २, २०७५ आइतबार १७:३७:१३ | रासस
unn.prixa.net

पपुआ न्यू गिनीमा विश्वका नेताहरुको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठकले अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ ।

सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति राष्ट्रहरु चीन र अमेरिकाबीचको मतभेद फेरि सतहमा आएको छ । गिनीको पोर्ट मोर्सबीमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को दुई दिने शिखर बैठक भएको थियो । बैठकमा एपेकका २१ सदस्य राष्ट्रका सरकार प्रमुखहरु र प्रतिनिधिहरुको सहभागिता थियो ।

अधिकारीहरुका अनुसार चीन र अमेरिकाबीच मुख्य गरी विश्व व्यापार संगठनको भूमिकाका बारेमा उत्पन्न विवादले उग्ररुप लिएको थियो । सदस्य राष्ट्रको सहमतिमा सम्मेलनको अध्यक्षता गरेका पपुआ न्यू गिनीका प्रधानमन्त्री पिटर ओ–निलले अध्यक्षको वक्तव्य मात्र जारी गर्नुभएको थियो ।

ठूलो संख्यामा उपस्थित पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै ओ–निलले भन्नुभयो, ‘चीन र अमेरिकाबीचको तनावका कारण विश्व नै चिन्तित छ ।’
प्रधानमन्त्री ओ–निलले नेताहरुको विवादले संयुक्त घोषणापत्र सार्वजनिक हुन नसकेको र त्यसबाट आफूलाई व्यक्तिगत रुपमा दुःख लागेको बताउनुभयो ।

एपेक स्थापनाको २९ वर्षमा पहिलोपटक नेताहरुले संयुक्त घोषणापत्र सार्वजनिक गर्न नसकेको बताइएको छ । विश्व अर्थतन्त्रको झण्डै ६० प्रतिशत हिस्सा यही समूहको नियन्त्रणमा छ । एपीले फेला पारेको मस्यौदा घोषणापत्रमा चीनको अनुचित व्यापारिक अभ्यासका विरुद्धमा कडा शब्द राख्नुपर्ने अमेरिकी माग थियो । तर चीनले भने अमेरिकी संरक्षणवादको विरोध गर्न चाहेको थियो ।

यसै वर्षमात्र संयुक्तराज्य अमेरिकाले २ सय ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गरेको छ । प्रतिशोध स्वरुप चीनले पनि अमेरिकी बस्तु तथा सेवामा कर बृद्धि गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सम्मेलनका क्रममा व्यापारका बारेमा भिन्न धारणा आउने कुरामा आफूलाई आश्चर्य नलागेको बताउनुभयो ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्स र चिनियाँ राष्ट्रपति सी जिनपिङले शनिबारको उद्घाटन समारोहमा सम्बोधन गर्दा एकअर्काप्रति आक्षेप लगाउनुभएको थियो । उपराष्ट्रपति पेन्सले सी र चीनप्रति सहानुभूति राखे पनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमाथि बौद्धिक सम्पत्ति चोरी गरेको, जबर्जस्ती प्रविधि हस्तान्तरण गरेको तथा अनुचित व्यापारिक शैली अपनाएको आरोप लगाउनुभएको थियो ।

उहाँले विकासशील देशहरुलाई पूर्वाधार निर्माणका नाममा ऋण दिएर चीनले अरु देशलाई ऋणको जालोमा पारेको आक्षेप समेत लगाउनुभयो । राष्ट्रपति सीले अमेरिकी संरक्षणवादले पारस्परिक सहयोगलाई रोकेको बताउनुभयो । उहाँले दोस्रो विश्वयुद्धपछि स्थापित विश्व व्यापार संगठनलाई आफ्ना निहित स्वार्थी एजेन्डा पूरा गर्ने संस्थाका रुपमा हेर्न नहुने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया