नयाँ बानेश्वरमा फल्चा शैलीकाे बस बिसौनी सञ्चालनमा

 जेठ १, २०८१ मंगलबार १५:१७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरेको बस बिसौनी आजदेखि सञ्चालनमा आएको छ ।

महानगरपालिकाको वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले बस बिसौनीको उद्घाटन गर्नुभएको हो । उहाँले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको बताउँदै जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना बिगार्न नहुने बताउनुभयो ।

वडाध्यक्ष केसीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमुना बस बिसौनी बनाएकाे उल्लेख गर्दै यस्ता संरचनालाई आन्दोलनको मारमा नपार्न राजनीतिक दलहरूसँग आग्रह गर्नुभएको छ ।

फल्चा निर्माणमा स्थानीय सहभागिता भएकाले यसको संरक्षणका लागि स्थानीयवासीले नै निगरानी गर्नेछन् । कार्यक्रममा निर्माण समितिका संयोजक एवम् वडा सदस्य सतिश तण्डुकारले भन्नुभयो, ‘यो नमुना अन्यत्र स्थानमा पनि विस्तार हुँदै जानेछ ।’

कार्यक्रममा महानगर प्रहरी बल पूर्व क्षेत्रका प्रमुख नगर प्रहरी उपरीक्षक दिनेशराज अर्यालले सार्वजनिक सम्पत्तिको संरक्षण आफूहरूको जिम्मेवारी भएकाले दुरुपयोग हुन नदिने बताउनुभयो ।

वडा सचिव सुबाेध खड्काका अनुसार बानेश्वरमा उस्तै शैलीका दुई वटा बस बिसौनी निर्माण भएका छन् । बानेश्वरबाट बबरमहलतर्फको सडक खण्डमा रहेको बिसौनी आजदेखि सञ्चालन भएको हो । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउनेछ ।

दुई वटा फल्चाको लागत ६२ लाख रुपैयाँ रहेको छ । यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् । फल्चा उद्घाटनपछि संरचना निर्माणबाट खुशी हुँदै स्थानीय र पैदल यात्रुले बिसौनीसँगै सार्वजनिक शौचालय भइदिएको भए सहज हुने बताएका छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया