इरान : बन्दरगाह विस्फोटमा ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे
बैशाख १४, २०८२ आइतबार
ओछ्यानमै घाम छिरेपछि छोरो उठ्यो । आङ बटार्याे । मोबाइल खोल्यो । ‘ए आज त आमाको मुख हेर्ने दिन है, सबैले फेसबुकमा फोटो राखिसकेछन्’ भन्दै ऊ झस्कियो ।
दशैँमा गाउँ जाँदा आमासँग भेट भएको थियो । त्यसपछि कहिलेकाहीँ फोनमा गफ गर्नुबाहेक आमालाई सम्झने फुर्सद मिलेको थिएन । आज त सम्झनै पर्याे ।
मोबाइलमा आमासँगै बसेको फोटो खोज्यो । कतै भेटिँदैन । बल्लतल्ल दशैँमा आमाको हातबाट टीका लगाएको फोटो भेट्यो । हतारहतार फोटो पोस्ट गरेर ‘ह्याप्पी मदर्स डे’ लेखेर पोस्ट गर्याे । अनि फेसबुकमा अरूका स्टाटस हेर्न थाल्यो ।
ओहो ! आज त फेसबुकभरि आमै आमा ! कसैको आमा सेतै फुलेकी । कसैको आमा भर्खरकी । कसैका आमाको नाक चुच्चो । कसैको आमाको नाक थेप्चो । यसको आमा यस्तो, उसको आमा उस्तो । अरूको आमाको फोटो हेर्दाहेर्दै अघि आफूले राखेको आमाको फोटोमा पनि १० वटा जति लाइक आइसकेछ ।
ऊ दङ्ग परेर मोबाइल खेलाउँदै भान्सामा छिर्याे । ग्यास चुल्होमा चिया बसालेर श्रीमती पनि मोबाइल खेलाउँदै थिइन् । ‘साँच्ची हजुरले फेसबुकमा आमाको फोटो राख्नुभयो त ? मैले त बिहानै राखिसकेँ, यी हेर्नुहोस् त कति धेरै लाइक र कमेन्ट’, श्रीमतीले म्याराथनमा उछिनेझैँ गरी भनिन् ।
‘अँ राखे नि, खै तिमीले कुन फोटो राख्यौ ? ए आफ्नी आमाको मात्र राखेको ? घरको आमाको पनि राख न’, श्रीमतीको मोबाइल हेर्दै भन्यो ।
‘तपाईँले मेरो आमाको राख्नुभएको छ र ?’ श्रीमतीले उल्टै प्रश्न गरिन् । अनि उतिखेरै भनिन्, ‘ल ल अहिले फोन गर्छु नि हजुरकी आमालाई पनि । अनि म त चिया पिएर आमालाई भेट्न जान्छु नि, बाबु नानी पनि जान्छन्, तपाईं नि जाने भए हिँड्नुहोस् ।’
‘खै के गर्ने के ? आमाको मुख हेर्ने दिन नि के ससुराली जानु, त्यसमाथि काममा पनि जानै पर्याे ।’
‘आ काममा त नगए पनि मिलिहाल्छ नि । ल ल हिँड्नुहोस, मेरो आमा तपाईंको नि आमा हो क्यारे’ श्रीमतीले कर गरिन् । त्यही बेला पल्लो कोठाबाट छोराछोरी दौडँदै आए । आमालाई अँगालेर भने, ‘ह्याप्पी मदर्स डे मामु ।’
‘बाबा हजुरले पनि गाउँकी आमालाई विश गर्नुभयो त ?’ सानो छोराले सोध्यो ।
‘अँ छोरा, फेसबुकमा त गरिसकेँ, अब फोन गर्नुपर्ला’ उसले जवाफ दियो ।
‘अनि आमाले फेसबुक हेर्नुहुन्छ त ? आमाको मोबाइलमा फेसबुक त चल्दैन । चले पनि उहाँलाई हेर्न आउँदैन, अस्ति नै दशैँमा घर जाँदा त खेतमा जानुभएको बालाई भात खान बोलाउँदा मैले फोन लगाइदिएको’ छोरीले भनिन् ।
छोरीको कुरा सुनेर ऊ टोलायो । हो त आमाको मोबाइलमा फेसबुक चल्दैन । चले पनि हेर्न जान्नुभएको छैन । ‘आ....आमाले हेर्न नजानेर के भयो त ? आमालाई कत्तिको माया गर्छु र सम्झन्छु भन्ने कुरा अरूले त थाहा पाउँछन् नि फेसबुक हेरेर’ भन्दै उसले चित्त बुझायो ।
................
ऊ श्रीमती र छोराछोरीसहित शहरमा बस्छ । आमा गाउँमा बस्छिन् । उसैगरी घरधन्दा, चुलोचौको, पानीपँधेरो, घाँसदाउरा, कुँडोभकारो, खेतीपाती र उकालीओराली गर्छिन् । शहरमा बस्ने छोराबुहारीले ‘भो दुःख नगर्नु, गाईभैंसी नपाल्नु, खेतीपाती पनि नगर्नू’ भनी टोपल्छन् ।
तर सबैले खेती नगर्ने, गाईभैंसी नपाल्ने हो भने मुखमा माड के ले लगाउने ? सबैका बाआमा चुप लागेर बस्ने हो भने धान मकै कसले फलाइदिन्छ ? गाईभैंसीको दूध कहाँबाट आउँछ ?
शहरमा किनेर खाने बानी भएका छोराबुहारीलाई यो कुरा के थाहा ? त्यसैले आमाको मन मान्दैन । आमाले एउटा गाई र दुइटा बाख्रा पालेकी छिन् । सकिनसकी घाँस काट्छिन् । कुँडो पकाउँछिन् । भकारो सोहोर्छिन् ।
बा बिहानै उठेर दूध दुहुन्छन् र बजारमा बेच्छन् । घरमा अलिकति राखेको दूध थोरै भातसँग खाएपछि आमाले ठेकीमा दही जमाउँछिन् । तीन दिन बिराएर मोही पार्छिन् । हर्लिक्सको सिसीमा घिउ जम्मा जमाउँछिन् । सिसी भरिएपछि शहरमा पठाउँछिन् । छोरोले घिउ मन पराउँछ । नातिनातिना त झन् घिउ भनेपछि हुरुक्कै हुन्छन् ।
घिउ पठाएको भाँडो घर पठाइदिए हुन्थ्यो भन्ने आमालाई लाग्छ । तर बुहारीले कहिले त्यही भाँडोमा अचार हाल्छिन् । कहिले मसला राख्छिन् । दशैँमा घर आउने बेला छोराले ‘के लेइदिउँ ?’ भनेर सोध्दा आमाले ‘घिउ पठाएको भाँडो बाबु’ भन्छिन् । तर घरबाट झोला र भाँडो भरेर ल्याउन मात्रै जानेको छोरो घर जाँदा खाली भाँडो लैजान बिर्सिन्छ । तल्लोघरकी पसले बहिनीले चकलेट सकिएपछि खाली भाँडो दिने गरेकी छिन् । आमाले त्यसमै काम चलाउँदै आएकी छिन् ।
चाडपर्व र काजकर्ममा छोराबुहारी पाहुनाझै घर पुग्छन् । बाआमा खुशी हुन्छन् । भात खाने बेला आमाले छोराको भागमा डाडुले घिउ थपिदिन्छिन् । बुहारी र नातिनातिनाले पनि ताजा घिउ चाख्न पाउँछन् ।
‘आमा घिउ पसलबाट ल्याएको हो ?’ नातिले सोध्छ ।
‘पसलमा किन्न पाइने घिउ कहाँ यति मिठो हुन्छ र बाबु, यो त मैले बनाएको नि’ आमा मख्ख हुँदै भन्छिन् ।
‘घिउ कसरी बन्छ आमा ?’ नातिले फेरि सोध्छ ।
आमाले दूध, दही, मोही र घिउ बनाउने प्रक्रियासम्म बेलिबिस्तार लगाउँछिन् ।
‘अनि यति मीठो घिउ दिने गाईले पनि भात खान्छ हो ?’ नातिनीले अचम्म मान्दै सोध्छिन् ।
नातिनीको कुरा सुनेर आमा हाँस्दै भन्छिन् ‘कहाँ भात खान्छ र गाईले, घाँस दिनुपर्छ, उ तल खेतमा गएर घाँस काटेर लेराउनुपर्छ ।’ आमाले घाँस काट्दा काँडाले कोतरेको हात देखाउँछिन् । छोराबुहारी र नातिनातिना चुप लाग्छन् ।
छोरोले घाँस काट्न बिर्सिसक्यो । बुहारीलाई भकारो सोहाेर्न घिन लाग्छ । घर गएको बेला धाराबाट एक/दुई खेप पानी भने ल्याइदिन्छिन् । आमाले कसैलाई फोन गर्नुपर्दा नातिनातिनीले मोबाइलमा नम्बर थिचिदिन्छन् । यति भए पछि आमालाई कता हो कता भए जस्तो लाग्छ ।
छोराबुहारी र नातिनातिना चाडपर्वमा मात्रै आउँदा पनि आमा खुशी हुन्छिन् । अरू दिन बा मात्रै हुन्छन् । बासँग सधैँ बात गर्न मिल्दैन । घर शून्य लाग्छ । धन्न गाई र बाख्रा छन् र बोल्ने साथी मिलेको छ ।
.............
आज आमाको मुख हेर्ने दिन छोरा बुहारी घर आउँछन् कि भन्ने आमालाई लागेको थियो । पल्लोघरकी ठूलीकान्छीको छोरी बिहानै ठूलो झोला बोकेर आएको देखेकी थिइन् । बाटो हेर्दाहेर्दै पटुकीमा घुसारेको फोन बज्यो । छोरो रैछ ।
‘आमा ढोग गरेँ, आज तपाईँको मुख हेर्ने दिन, सम्झेको नि’ छोराले मुखै हेरेझैँ गर्याे ।
‘ए बाबु पो, ल ल भाग्यमानी भएस्, सम्झियौ भैहाल्यो नि’ फोन आउँदा पनि छोरो नै आएझैँ भयो आमालाई ।
बिहान छोरीले पनि यसैगरी फोन गरेकी थिइन् । बिहे भैसकेकी छोरी ज्वाइँसितै अष्ट्रेलियामा छिन् । अब ‘तेल भिसा’ मा आमालाई उतै लैजाने तयारीमा छिन् ।
फोन गरेको बेला छोराछोरी दुवैले ‘आउन नसके पनि आमालाई सम्झिँदै फेसबुकमा फोटो पनि राखेको छु’ भने ।
छोराछोरीलाई कोर्सबुकको जोहो गर्दागर्दै डाँडामाथिको घामजस्तो भैसकेकी आमालाई फेसबुक भन्ने उतिसारो मेसो छैन । छोराले फेसबुकमा फोटो राखेको छ भन्ने सुनेर आमालाई कता हो कता भयो । छोराछोरीले फेसबुकमै भए पनि धेरै सम्झिएका रहेछन्, माया गरेका रहेछन् भनेर आमा गद्गद् भइन् । छोराछोरीले फेसबुकमा राखेका फोटोको फेसझैँ आज संसारभरिकै आमाहरूको फेस स्मित, स्निग्ध र औधि उज्यालो भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।