म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै

 जेठ ५, २०८१ शनिबार १२:४३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी – म्याग्दीकाे बेनी नगरपालिकाले विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन ‘हामी सक्छाैँ, हामी गर्छौ कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन थालिएको हो । नगरपालिकाका मेयर सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

यो कार्यक्रमबाट माध्यमिक तहको शिक्षा हासिल गरेपछि विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने लक्ष्य राखिएको उहाँको भनाई छ ।

हाउस वायरिङ, पलम्बिङ, कपाल काट्ने, अतिथि संस्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायतका सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा एक/एक लाख बजेट उपलब्ध गराएको छ ।

कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गरिएको बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले जानकारी दिनुभयो । बिहान बेलुका विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागि हुने व्यवस्था मिलाइएको छ ।

बेनी नगरपालिकाको १६ वटा सामुदायिक विद्यालयका दुई हजार जनाभन्दा धेरै विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा छ । विद्यालयमा प्रारम्भिक चरणको सीप सिकेका विद्यार्थीलाई अन्य तालिममार्फत् क्षमता विकास गरिनेछ । दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउने कार्यक्रम सहयोगी बन्ने नगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया