संखुवासभाको किमाथांकासहित उत्तरतर्फका १४ वटा परम्परागत नाका आजदेखि खुल्दै

 जेठ १२, २०८१ शनिबार ८:७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – संखुवासभाको किमाथांकासहित उत्तरतर्फका १४ वटा परम्परागत नाका आजदेखि खुल्ने भएका छन् । कोरोनाकालमा चीन सरकारले बन्द गरेका १३ जिल्लाका ती नाकाहरू आज खुल्न लागेका हुन् । चीनसँग जोडिएका यी नाकाहरू २०७६ सालदेखि बन्द भएका थिए । बन्द भएका नाका औपचारिक रुपमा खुलेको घोषणा गर्न उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अहिले किमाथांका पुग्दै हुनुहुन्छ ।

त्यहीँबाट उहाँले किमाथांकासहित १४ वटा नाका एकैपटक खुलेको घोषणा गर्नुहुने संखुवासभाका प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले उज्यालोलाई जानकारी दिनुभयो । संखुवासभाको किमाथांकासँगै गोरखा, ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, दार्चुला र दोलखाका परम्परागत नाका आजदेखि खुल्न लागेका हुन् ।

नेपालको उत्तरी क्षेत्रमा रहेका विभिन्न १४ वटा परम्परागत नाका पुनः सञ्चालनका लागि नेपाल र चीनबीच निरन्तर छलफल हुँदै आएको थियो । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गएको चैतमा गर्नुभएको चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत नाका खुलाउने समझदारी भएको थियो ।

रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाका यसअघि नै सञ्चालनमा आइसकेका छन् । किमाथांका नाका पुनः सञ्चालन गरेर सीमावर्ती क्षेत्रमा सहज आवतजावतका व्यवस्था मिलाउन भोटखोलाबासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

नाका खोल्नका लागि नेपाल र चीनका स्थानीय अधिकारीबीच पटकपटक वार्ता भए पनि नाका खुल्ने वातावरण बन्न सकेको थिएन । नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रसँग जोडिएको भोटखोलाका बासिन्दाको दैनिकी कष्टकर हुँदै आएको थियो ।

भोटखोला गाउँपालिकाका धेरै बासिन्दा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । सडक पुगेको ठाउँबाट दुई दिन हिँडेर नाका पुग्न सकिन्छ ।

निकै विकट ठाउँ भएकाले सङ्खुवासभाबाट चामल, नुन, तेल, चिनीलगायत दैनिक अत्यावश्यक वस्तुको आपूर्ति गर्न असहज हुँदै प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । चीनले यसअघि देखिनै नेपालका चौरी तथा भेडालाई तिब्बतका खर्कमा चरन सुविधा उपलब्ध गराउँदै आएको थियो ।

किमाथाङ्का नाकाबाट ३० किलोमिटरभित्रका नेपाली नागरिकले परिचपयपत्रका आधारमा निर्वाधरुपमा आउजाउ गर्न पाउने व्यवस्था छ । सरकारले उत्तरी सीमा क्षेत्रका बासिन्दाका लागि एकैप्रकारका विशेष पासको व्यवस्था गरेको छ । नाका सञ्चालनमा आएसँगै सीमावर्ती क्षेत्रका नागरिकको दैनिकी सहज हुने विश्वास गरिएको छ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया