आज बाह्रौं राष्ट्रिय कृषक दिवस : किसानको सम्मान हुनुपर्नेमा कृषि विज्ञको जोड

 जेठ २७, २०८१ आइतबार ९:०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज बाह्रौं राष्ट्रिय कृषक दिवस मनाइँदै छ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गते दिवस मनाउने गरिन्छ । २०७० सालदेखि मनाउन शुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान गर्ने गरिएको छ ।

उत्पादनका आधार किसानको सम्मानलाई केन्द्रमा राखेर दिवस मनाउन राष्ट्रिय कृषक महासङ्घ नेपाल, राष्ट्रिय कृषक दिवस व्यवस्थापन समितिले आग्रह गरेको छ । नेपाल कृषि प्रधान देश भए पनि आयात गरेर खाद्यान्नको माग धान्नुपर्ने अवस्था छ । युवाशक्ति विदेशिने क्रम बढेसँगै खेतीयोग्य जमिन बाँझै रहन थालेका छन् ।

किसानले समयमै मलबीउ नपाउने, सिँचाइको अभाव, आधुनिक कृषि औजारको प्रयोग र पहुँच, कृषि प्राविधिक पर्याप्त नहुन, उत्पादन भएको उपजले बजार र उचित मूल्य नपाउनु जस्ता समस्या भोग्दै आएका छन् ।

सरकारले २०८१ देखि ०९१ को अवधिलाई कृषिमा लगानी दशकसमेत घोषणा गरेको छ । आउँदो आर्थिक वर्षका लागि सरकारले कृषिमा ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

देशको अर्थतन्त्रमा झन्डै २५ प्रतिशत योगदान दिने कृषिक्षेत्रलाई प्रोत्साहन गर्न लगानी दशक घोषणा गर्नुलाई कृषि विज्ञले सकारात्मक नै मानेका छन् । तर किसानले भोग्दै आएका विगतदेखिकै समस्यालाई पहिला सम्बोधन गर्नुपर्नेमा कृषि अर्थविज्ञ एवम् कृषि मन्त्रालयका पूर्व सहसचिव डाक्टर श्रीराम घिमिरेको जोड छ ।

किसानसँग पुग्नुपर्ने कृषि प्राविधिक जनशक्तिको अभावलाई पूर्ति गर्न सके मात्रै पनि किसान र कृषिका धेरै समस्याको समाधान हुनसक्ने उहाँ बताउनुहुन्छ । किसानका वास्तविक समस्याको समाधान गर्नु नै उनीहरुको सम्मान हुने कृषिविज्ञ डाक्टर घिमिरेको भनाई छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया