नेवार समुदायले सिथि नखः पर्व मनाउँदै

 जेठ ३०, २०८१ बुधबार ११:३१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ  – आज नेवार समुदायले सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगिलगायत गेडागुडीबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ । सिथि नखः हरेक वर्षको जेठ शुक्ल षष्ठीका दिन मनाउने गरिन्छ ।

त्यस्तै आजका दिन नेवार समुदायले देवाली पूजा पनि समापन गर्ने गर्छन् । आज नै काठमाण्डौको जैसीदेगलमा रहेको ६ वटा टाउको भएको कार्तिकेय कुमारलाई भक्तजनबाट दर्शन र विशेष पुजाका लागि मन्दिरबाट बाहिर राखिन्छ । आज भक्तपूरको चासखेलमा चण्डेश्वरी देवी र थिमिका लोकेश्वरको पनि जात्रा हुन्छ ।

सिथि नखःका दिन हरेक वर्ष पानीको स्रोतलाई सरसफाई र आफु बसेको वातावरण सफा गर्ने चलन छ । सार्वजनिक इनार, ढुङ्गेधारा, कुवा, पोखरी आफ्नो टोलका सबै जना भेला भएर सफा गर्ने परम्परा रहेको गोदावरी नगरपालिकाको ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष महेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

इनारको विशेष पूजा गरी इनारभित्र गएर सफा गर्ने, त्यसपछि चार दिनसम्म इनारबाट पानी नतानेर छोपेर राखिन्छ । चार दिनमा फेरि पूजा गरेर मात्र पानी लिने चलन छ । अझै पनि नेवार समुदायमा इनार सफा गर्नको लागि यही विशेष दिन पर्खिने परम्परा छ । यो बेला पानीको सतह कम हुने भएकोले सफा गर्न सहज हुन्छ ।

वर्षायाम शुरु हुँदै गर्दा सबै जम्मा भएर सार्वजनिक धारा कुवा, इनार लगायतको सरसफाईका लागि सिथि नखः पर्व शुरु भएको हिति प्रणालीमा पानी व्यवस्थापन सम्बन्धि इतिहास समेटिएको पुस्तकका लेखक समेत रहेका शहरी विकास विज्ञ पद्यमसुन्दर जोशी बताउहुन्छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया