भन्सार महसुल घटेसँगै सुनकाे भाउ एकैदिन तोलामा १५ हजार नौ स...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – देशभरि एक हजार छ सयभन्दा धेरै वडा केन्द्रबाट सबैभन्दा टाढाको बस्ती, टोल वा गाउँ पुग्न पैदलयात्राको विकल्प नभएको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रश्नावलीअन्तर्गतकाे नतिजाअनुसार कुल वडाको २४ दशमलव ६ प्रतिशत अर्थात् एक हजार छ सय ६१ वडा केन्द्रबाट वडाकै सबैभन्दा टाढाका गाउँ पुग्न गाडीको सुविधा नभएको पाइएको हो ।
यस्तै दुई सय ३१ वटा वडामा टाढाको बस्तीबाट वडा कार्यालय पुग्न पाँच घण्टाभन्दा धेरै पैदल हिँड्नुपर्ने अवस्था रहेको छ । वडा कार्यालयबाट सबैभन्दा टाढाको गाउँमा पुग्न पैदल र गाडी दुवै यात्रा गर्नुपर्ने वडाको सङ्ख्या चार हजार आठ सय ६४ वटा अर्थात् ७२ दशमलव १ प्रतिशत रहेको छ ।
यस्तै देशका ६८ दशमलव ३ प्रतिशत वडामा सार्वजनिक शौचालयको सुविधा नरहेको पाइएको छ । ५ हजार २ सय ९४ वटा अर्थात् ७८ दशमलव ५ प्रतिशत वडाको मुख्य राजस्वको स्रोत भूमि तथा मालपोत कर रहेको देखिएको छ । १ सय ७१ वटा वडामा जडीबुटी उत्पादन हुने देखिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।
३६ दशमलव १ प्रतिशत वडामा प्रहरी चौकी, साढे ६ प्रतिशत वडामा वृद्धाश्रम र ६ दशमलव ४ प्रतिशत वडामा बालगृह रहेका छन् । देशका ९५ दशमलव २ प्रतिशत वडामा खोप सेवा उपलब्ध रहेको पाइएको छ । ८ सय ९ वटा वडामा मात्रै सर्पदंशको उपचारको सुविधा रहेको छ । २६ दशमलव ७ प्रतिशत वडामा एमबीबीएस मेडिकल डाक्टरको सुविधा रहेको छ । ४० दशमलव ८ प्रतिशत वडामा बढीमा आधा घण्टाको दुरीमा उच्च शिक्षाको सुविधा रहेको पाइएको छ । २२ प्रतिशत वडामा दमकलको सुविधा पुगेको छ ।
९९ प्रतिशत वडामा कुनै न कुनै प्रकारको प्राकृतिक प्रकोपको जोखिम रहेको पाइएको छ । सबैभन्दा बढी ६३ दशमलव ६ प्रतिशत वडामा बाढी र सबैभन्दा कम १ दशमलव २ प्रतिशत वडामा हिमताल विस्फोटको जोखिम रहेको पाइएको छ । तथ्याङ्क कार्यालयको प्रतिवेदनअनुसार नेपालमा टोल, बस्ती तथा गाउँको सङ्ख्या १७ हजार पाँच सय ९३ वटा रहेको हो ।
राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले यो तथ्याङ्कलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा जोड्ने र त्यसमा राष्ट्रिय योजना आयोगको समेत भूमिका रहने बताउनुभयो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेलले विकास पूर्वाधार बनाउँदा कुन वडालाई प्राथमिकतामा राख्ने र सम्बन्धित वडामा कस्तो खालको पूर्वाधारको आवश्यकता छ भनेर बुझ्न यो तथ्याङ्कले सहयोग पुर्याउने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।