क्रिकेटको छक्कामा नेताको ‘सत्ता...... !’

 असार २, २०८१ आइतबार १५:१३:६ | मिलन तिमिल्सिना
unn.prixa.net

‘क्रिकेटको जर्सी कहाँ पाइन्छ हँ ?’ नेताजीले सहयोगीलाई सोधे ।

किन र हजुर जहाँ पनि पाइन्छ, मैसित पनि होला दुई चार वटा ।

लगाउनुपर्ने भयो । अस्तिताका हाम्रा गृहमन्त्रीले जर्सी नै लगाएर मन्त्रालयमा काम गरेछन् । केही युवा सांसदहरूले पनि जर्सी लगाएर फोटो खिचेको देखियो । प्रतिस्पर्धी दलका नेता पनि खेलाडीको जस्तै जर्सी लगाएर टेलिभिजन अगाडि बस्दा रैछन् । खेल अगाडि र पछाडि पनि फेसबुकमा स्टाटस राख्दा रैछन् । म मात्रै पछाडि परेँ ।

अनि हजुरले क्रिकेट बुझ्नुहुन्छ र ?

जर्सी लगाएर फोटो खिच्न क्रिकेट बुझिरहनुपर्छ र भन्या ।

हैन हजुर जर्सी लगाएपछि त टेलिभिजनमा क्रिकेट हेरिरहेको फोटो पनि खिच्नु पर्‍याे । बुझेजस्तो अभिनय त गर्नुपर्छ नि ।

कस्ता कस्ता अभिनय गर्दै आइयो, जाबो क्रिकेट हेरेको अभिनय गर्न के गाह्रो भयो त । ल तिम्रै भए पनि जर्सी लेराउ । अनि फोटो खिच्ने मान्छे पनि बोलाउ ।

हस् हस् हजुर ।

सहयोगीले जर्सी लेराए । नेताजीले बल्लबल्ल टाउको छिराए । भुँडीबाट तलतिर जान मुश्किल पर्‍याे ।

हैन कति सानो हो त तिम्रो जर्सी ?

काँ हजुर उ बेला गाउँपाखा, डाँडाकाँडा हिँड्दा तपाइँलाई मेरो लुगा ठूलो हुन्थ्यो । अहिले हजुर गाडीमा मात्रै गुड्नुहुन्छ, मीठो मसिनो मात्रै खानुहुन्छ, भव्य महलमा मात्रै बस्नुहुन्छ । सबै कुरा ठूला खोज्न थालेपछि भुँडी पनि ठूलै भयो, अनि मेरो लुगा साना ।

अब केही वर्ष यस्तै मसँगै मोजमस्ती गर्न पायौ भने तिम्रो पनि भुँडी ठूलो हुन्छ । ल छोड्देउ यस्ता कुरा, यो जर्सी तानतुन पारेर मिलाइदेउ न ।

सहयोगीले जर्सी मिलाइदिए । पुटुक्क भुँडीमा क्रिकेटको जर्सी कताकता के नमिलेजस्तो देखियो । तै पनि जर्सीमा गमक्क परेर नेताजी सहयोगीलाई छेउमा राखेर टेलिभिजनमा क्रिकेट हेर्न थाले ।

ल ल ल सत्ता.......नेताजी बुरुक्क उफ्रिए ।

सत्ता हैन हजुर छक्का । त्यो पनि हाम्रोले हैन, प्रतिस्पर्धीले हानेको ।

ला हो र ? खत्तमै भयो नि । 

ल ल ल छक्का छक्का थुक्क......।

के भयो र ?
छक्का हुनुपर्थ्याे आफैँ छक्किए भने केटाहरू ।

विकेट विकेट.......हरे ।

चौका....हुर्रे 

कहिले छक्का, कहिले विकेट, कहिले चौका, कहिले रन । क्रिकेटमा त के के हो के के ? फुटबलमा जस्तै गोल मात्रै भए पो हेर्न मज्जा हुन्थ्यो ।

पख्नुस् न हजुर पख्नुस् । ल ल फेरि हान केटा हो । थुक्क । खत्तमै भयो नि ।

के भयो र फेरि ?

जितिसकेको खेल हार्‍याे ।

हार्‍याे नै ?
हार्‍याे हजुर हार्‍याे ?

हार्‍याे हैन, दोस्रो भयो । तेस्रो भएको भए सत्ता हाम्रै केटाहरूको हुन्थ्यो । आच्या सत्ता पो भनेछु, पद क्या पद । आच्या पद पनि हैन क्यारे, पदक ।

हैन तेस्रो भएर कसरी जित्ने नि हजुर ?

ल हामीलाई हेर न । हामी चुनावमा तेस्रो भयौँ । तर सत्ता हाम्रै हातमा छ ।

कहाँ सत्ताको खेल जस्तो हो र हजुर यो ? छक्का, चौकाको खेलमा पहिलो हुनेले नै पदक पाउने हो ।

त्यसैले त छक्का, चौकाको सट्टा सत्ता भन्नुपर्‍याे भन्या । सत्ता भनेर खेलेपछि जसो गरे पनि सत्ता ।

सत्ताको कुरा छोडिदिनुस् हजुर । यी यहाँ फेसबुकमा हेर्नुस् त तपाईंलाई गाली पो गर्दैछन् । न खेलाडीलाई प्रोत्साहन, न राम्रो मैदान । क्रिकेट खेलको विकास गर्नु त कता कता, जर्सी लगाएर रमिता पो गर्दैछन् भनेर लेख्या छन् ।

आ जेसुकै भनून् । प्रतिक्रियावादीहरूका त्यस्ता जाबा गाली र आलोचना कति पचाइयो पचाइयो । मैदान राम्रो भएर मात्रै पनि त केही हुने रहेनछ नि । अमेरिकाजस्तो देशले पानी पर्‍याे भनेर खेल खेलाउन सकेन । हाम्रो यहाँ विश्वकप होओस् न, छाता ओढेर पनि खेलाउँछौँ । पानी पर्दैमा हाम्रो यहाँ काम रोकिएको छ त ? झमझम पानी परेकै बेला सडकमा पिच हुन्छ त ।

आ हजुर पनि कता सडक पिचको कुरा, कता क्रिकेट मैदानको पिचको कुरा ।

ल ल तिमी पनि धेरै बाठो नहोउ । यो टिसर्ट लगाएर खेल हेर्दै गरेको फोटो फेसबुकमा राखिहाल । देख्नेहरूले भनून् न फलानालाई पनि क्रिकेटमा कत्रो क्रेज, नेता होऊन् त यस्ता ।

अघि नै राखिसकेँ नि हजुर । नेताहरूले जर्सी लगाएर खेल हेरेपछि पनौती लाग्यो, हार्‍याे पो भनेर गाली गर्दैछन् ।

त्यसो भए हटाइ हाल । त्यस्ता जाबो चौका र छक्का भन्दा सत्ताकै खेल कति आनन्द, आनन्द !

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया