भरतपुर महानगरले दियो ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम

 असार २, २०८१ आइतबार १५:१७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षमा चार हजार पाँच सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगारसम्बन्धी तालिम दिएको हो ।

महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौसी खेती, पञ्चेबाजा बजाउने, मादल तथा खैजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिइएको छ । यस्तै प्लम्बिङ, कृषि, बेकरी, सर्फ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन,  झुम्का, माला, नेक्लेश तथा चुरा बनाउने, ड्राइभिङ, एड्भान्स सिलाइकटाइ, कुक र होमेस्टे, इलेक्ट्रिसियन, सेनेटरी प्याड बनाउने लगायतका तालिम पनि दिइएको छ ।

तालिमहरू एक दिनेदेखि चार महिनासम्म सञ्चालन भएको महानगरले जनाएको छ । श्रमलाई उत्पादनसँग जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ ।

भरतपुर महानगरकी मेयर रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निःशुल्क तालिमलाई जोड दिएको बताउनुभयो । तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको उहाँको भनाइ  छ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया