११ महिनामा काठमाण्डौ महानगरको बजेट खर्च जम्मा साढे ३६ प्रतिशत

 असार ४, २०८१ मंगलबार १८:२९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा ३६ दशमलव ५५ प्रतिशत बजेट खर्च गरेको छ ।

महानगरले चालू आर्थिक वर्षका लागि २४ अर्ब आठ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा गएको साउनदेखि जेठ मसान्तसम्म जम्मा आठ अर्ब ८० करोड ४३ लाख रुपैयाँ खर्च गरेको हो । अब महानगरसँग १५ अर्ब २८ करोड १३ लाख रुपैयाँ मौज्दात छ ।

१० महिनामा काठमाण्डौ महानगरपालिकाले सबैभन्दा धेरै वित्तीय सुशासनमा खर्च गरेको छ । महानगरले वित्तीय सुशासनमा ५९ लाख विनियोजन गरेकोमा ७६ प्रतिशतभन्दा धेरै अर्थात् ४५ लाख २७ हजार रुपैयाँ खर्च भएको छ । महानगरले ऊर्जा क्षेत्रमा पाँच करोड ९६ लाख विनियोजन गरेकोमा झन्डै ७० प्रतिशत अर्थात् चार करोड १५ लाख रुपैयाँ खर्च गरेको छ ।

११ महिनामा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा तीन अर्ब ४३ करोड विनियोजन भएकोमा ६५ प्रतिशतभन्दा धेरै दुई अर्ब २४ करोड रुपैयाँ खर्च भएको छ । महानगरले सामाजिक सुरक्षा तथा संरक्षण क्षेत्रमा २७ करोड २१ लाख विनियोजन गरेकोमा ५७ प्रतिशतभन्दा धेरै अर्थात् १५ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै महानगरले पर्यटन, खानेपानी तथा सरसफाइ र भाषा तथा संस्कृति क्षेत्रमा ५० प्रतिशत बजेट खर्च गरेको छ ।

महानगरले ११ महिनामा स्वास्थ्य क्षेत्रमा निकै कम बजेट खर्च गरेको छ । स्वास्थ्यमा एक अर्ब १० करोड विनियोजन भएकोमा झन्डै १८ प्रतिशत अर्थात् १९ करोड ७३ लाख रुपैयाँ मात्र खर्च भएको छ । यस्तै कृषिमा सात, युवा तथा खेलकुदमा ११, विज्ञान तथा प्रविधिमा साढे ४४, पुनर्निर्माणमा साढे ३६ र वातावरण तथा जलवायु क्षेत्रमा साढे २४ प्रतिशत बजेट खर्च भएको छ ।

काठमाण्डौ महानगरले ११ महिनामा तीन वटा क्षेत्रमा भने एक रुपैयाँ पनि खर्च गर्न सकेन । ११ महिनामा जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था र श्रम तथा रोजगारी क्षेत्रमा बजेट खर्च शून्य छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया