दूधको बक्यौता भुक्तानी माग्दै किसान फेरि आन्दोलनमा, किसानलाई दूधको भुक्तानी दिन सांसदको माग

 असार ५, २०८१ बुधबार १८:३५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दूधको बक्यौता भुक्तानीको माग गर्दै दूग्ध किसान फेरि आन्दोलित भएका छन् । यसअघि दुई पटकसम्म आन्दोलन गरेर सहमति गरेको भए पनि कार्यान्वयन नभएकोले फेरि आन्दोलन गर्नुपरेको केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले बताउनुभयो ।

आज दूग्ध विकास संस्थान (डिडिसी) मा घेराउ गर्न पुगेका किसानलाई प्रहरीले पक्राउ गरी केहीबेर कालीमाटी प्रहरी वृत्तमा राख्यो । पक्राउ परेकालाई छाडेको भए पनि आफूहरुको आन्दोलन जारी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार डिडिसी र निजी कम्पनीबाट किसानले झन्डै साढे चार अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

यसैबीच प्रतिनिधि सभाको बैठकमा सांसदले किसानलाई दूधको भुक्तानी दिन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले दूग्ध किसानको बक्यौता समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाली कांग्रेसकी सांसद नागिना यादवले किसानको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । दूग्ध किसानको झन्डै साढे चार अर्ब बक्यौतामध्ये सरकारी स्वामित्वको दूग्ध विकास संस्थानको झन्डै एक अर्ब २५ करोड रुपैयाँ छ । बाँकी निजी दूग्ध कम्पनी तथा डेरीको हिस्सा रहेको राष्ट्रिय दूग्ध विकास बोर्डले जनाएको छ ।

गएको वर्षको साउनदेखि दूग्ध किसानको भुक्तानी रोकिन थालेको हो । मङ्सिरमा बक्यौता रकम झन्डै सात अर्ब रुपैयाँ रहेकोमा त्यसपछि झन्डै साढे दुई अर्ब रूपैयाँले घटेको हो । संस्थान र नीजि दूग्ध कम्पनी तथा डेरीले भण्डारमा थन्किएको धुलो दूध र मखनको खपत नभएकोले भुक्तानी गर्न नसकेको बताउँदै आएका छन् । किसानले पशुचौपायलाई दाना खुवाउन समस्या हुनुको साथै बैंकको किस्ता भुक्तानी रोकिएको गुनासो गर्दै आएका छन् ।  

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया