१० वर्षमा कृषिमा आत्मनिर्भर हुने गरी काम गर्ने कृषि मन्त्रीकाे प्रतिबद्धता

 असार ६, २०८१ बिहीबार १८:४२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले अबको १० वर्षमा कृषिमा देशलाई आत्मनिर्भर हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को ‘किसान–२’ परियोजनाको आज समापन कार्यक्रममा बोल्दै कृषि मन्त्री साहले धान, मकै, मुसुरोको खेती बढी हुने तराई मधेश लगायतका क्षेत्रबाट यसको शुरुवात गर्ने बताउनुभएको हो । यी क्षेत्रमा उत्पादन वृद्धि र बजारीकरणमा सघाउन मन्त्रालय तयार रहेको उहाँकाे भनाइ छ ।

मन्त्री सालले कृषिलाई व्यावसायिकरण गर्न निजी साझेदारी बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयो । कृषि विकासका लागि मन्त्रालयको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्दै उहाँले आयोजनाको धान, मिल र मकै सङ्कलन मोडलले किसानलाई आफ्नो बालीको उचित मूल्य पाउन सघाएको भन्दै धन्यवाद दिनुभयो । यो मोडल सात सय ५३ वटै पालिकामा पुर्‍याउने कृषि मन्त्रीले बताउनुभयो ।

यस्तै कार्यक्रममा अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले नेपाली कृषि सम्भावनाको उपयोग गर्दै, किसानहरूको आय वृद्धि, बजारीकण, पहुँच विस्तार तथा खाद्य सुरक्षाकाे सुधारमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा कृषि क्षेत्रको तथ्याङ्क सङ्कलन विश्लेषण र दुरुस्त राख्ने कार्यलाई थप व्यवस्थित गर्न थप सहयोग पुर्‍याउनका लागि केन्द्र, प्रदेश र पालिकामा उपयोगमा ल्याउने गरि आठ सय वटा ट्याबलेट र अन्य सूचना र सञ्चार प्रविधि उपकरणहरू मन्त्रालयलाई हस्तान्तरण गरिएकाे छ ।

कार्यक्रममा कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आय वृद्धिको दिशामा परियोजनाले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू प्रदर्शन गरिएको थियो । ‘किसान–२’ परियोजनाले सात वर्षमा दुई लाख ७० हजार छ सय जना किसानलाई सहयोग गरेको छ । नेपाल सरकार र निजी क्षेत्रबीचको सहकार्यमा परियोजनाले २५ वटा जिल्लामा कृषि उत्पादन र बिक्रीलाई उल्लेखनीय रूपमा बढाएकाे छ ।

सन् २०११ देखि अमेरिकी सरकारको 'फिड द फ्युचर' कार्यक्रमले आठ लाखभन्दा बढी किसानलाई कृषि उत्पादकत्वमा सुधार र बिक्री वृद्धिमार्फत आय बढाउन १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया