यस वर्ष नेपालका ८ ठाउँमा अहिलेसम्मकै उच्च तापक्रम मापन

 असार ७, २०८१ शुक्रबार १५:५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – यस वर्ष देशका आठ ठाउँमा अहिलेसम्मकै बढी तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतकाे देशभरका तापमापन स्टेशनमध्ये आठ वटा स्टेशनमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको विभागका मौसमविद् सुदर्शन हुमागाँईले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष भक्तपुरको चाँगुनारायण, सुनसरीको धरान, बाराको करैयामाई, खोटाङको दिक्तेल, सिन्धुपाल्चोकको चौतारा, जुम्लाकाे सदरमुकाम, बैतडीको पाटन र कैलालीको टीकापुरमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको हो । यस्तै काठमाण्डाैमा यस वर्ष २५ वर्षयताकै गर्मी भएको छ । यस वर्ष देशका धेरैजसो ठाउँमा उच्च तापक्रम धेरै दिन रहँदा अत्यधिक गर्मी महसुस भएको छ ।

नेपालमा मात्र नभई संसारभर पछिल्लो समय गर्मी बढिरहेको छ । मौसमविद्ले गर्मी बढ्नुको मुख्य कारण जलवायु परिवर्तन रहेको बताएका छन् । युरोप र अमेरिकामा केही वर्षदेखि अत्यधिक गर्मी बढेको छ । यो वर्ष उत्तरी भारतमा एक हप्ताभन्दा लामो समय तातो हावाको लहर चल्यो । यस वर्ष साउदी अरबमा उच्च गर्मीका कारण झन्डै एक हजार हजयात्रीको ज्यान गएको छ ।

विश्वव्यापी रूपमा उच्च गर्मी भोगिरहँदा यस वर्ष नेपालमा पनि प्रि–मनसुनको समयमा अत्यधिक गर्मी भएको छ । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालमा यस वर्ष प्रि–मनसुनमा पर्याप्त वर्षा नहुनुले पनि गर्मी बढेको मौसमविद् हुमागाँईले बताउनुभयो ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया