दुग्ध किसानलाई भुक्तानीको प्रयास भइरहेको छ : नेपाल डेरी एसोसिएसन

 असार ८, २०८१ शनिबार १५:१८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल डेरी एसोसिएसनले दुग्ध किसानको भुक्तानी गर्न प्रयास गरिरहेको जनाएको छ । एसोसिएसनले आज विज्ञप्ति निकालेर चैत मसान्तसम्मको भुक्तानी लगभग सबैले गरिसकेका र दुई/चार जना बाँकी सदस्यको पनि चाँडै भुक्तानी हुने प्रतिबद्धता आएको जनाएको छ । किसानको चार अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी दिन बाँकी रहेको कुराले नै डेरी उद्योग सङ्गटमा रहेको प्रष्ट हुने एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले कोही कसैको भुक्तानी गर्न बाँकी हुँदा किसानको मर्म र भावना बुझी यथाशक्य चाँडो भुक्तानी गर्न निर्देशन गरिसकेको पनि जानकारी दिएको छ । दुध बेचेको पैसा नपाएर किसान सडकमा आउँदा परेको अफ्ट्यारोमा दुःख व्यक्त गर्दै आउँदा दिनमा यस्तो अवस्था आउन नदिन एसोसिएसनले सबै प्रकारका प्रयास जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

धुलो दुध र बटरको स्टकलाई धितो मानी सरल कर्जा उपलब्ध गराउने र दुग्ध पदार्थ निर्यातका लागि अनुदान उपलब्ध गराएमा किसानको सम्पूर्ण भुक्तानी चाँडै गर्न सकिने एसोसिएसनले जनाएको छ । भूकम्प, नाकाबन्दी, कोभिड जस्ता विपत्ति आउँदा पनि उद्योग र दुग्ध किसानको सम्बन्धमा कहिल्यै पनि यस्तो असहज परिस्थिति नआएको एसोसिएसनले स्मरण गराएको छ ।

किसानले उत्पादन गरेको दुध र उपभोगको अन्तर बढ्दै जाँदा उद्योगसँग रहेको धुलो दुध र बटरको मौजदात बढ्दै जाँदा अहिलेको दुःखद् परिस्थिति आएको डेरी एसोसिएसनले दाबी गरेको छ । आउँदो आर्थिक वर्षको बजेटमा नेपाल डेरी एसोसिएसनले दूग्ध पदार्थमा ५० प्रतिशत भ्याट रिबेट, प्याकेजिङ र स्पेयर पार्ट्समा एक प्रतिशत भन्सार दर, कृषि कर्जाको निरन्तरता, बिजुलीमा ५० प्रतिशत छुट लगायतका कुराको माग राखेकोमा केही पनि सम्बोधन नभएकाले उत्पादन लागत घटाउन असक्षम रहेको डेरीले जनाएका छन् । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया