पालिकाहरुले आज बजेट ल्याउँदै

 असार १०, २०८१ सोमबार ९:५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – पालिकाहरुले आउँदो आर्थिक वर्षका लागि आज बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पालिकाले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ ।

सात सय ५३ पालिकामध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् । हिजोसम्म ३८ पालिकाले बजेट पेस गरिसकेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोशी प्रदेशका २, मधेस प्रदेशका ६, बागमतीका ६, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३, कर्णालीका १ र  सुदूरपश्चिम प्रदेशका ६ वटा पालिकाले बजेट पेस गरेका छन् । बाँकी पालिकाले आज बजेट सार्वजनिक गर्दैछन् ।

अघिल्लो वर्ष धेरै पालिकाले निर्धारित समयभन्दा निकै पछिसम्म पनि बजेट सार्वजनिक गर्न सकेका थिएनन् । समयमा बजेट नल्याउँदा वित्तीय अनुशासनमा प्रश्न उठ्नुका साथै खर्चमा समेत प्रभाव पर्ने गरेको छ ।

यसैबीच ललितपुरको गोदावरी नगरपालिका, सर्लाहीको बागमती नगरपालिका र महोत्तरीको जलेश्वर नगरपालिकामा नेतृत्व नै नभएपछि नीति तथा कार्यक्रम र बजेट अन्योलमा परेको छ । भ्रष्टाचार मुद्दामा ती नगरपालिकाका मेयर र उपमेयर नै निलम्बनमा परेपछि दुवै पद एकै पटक रिक्त भएका हुन् ।

मेयर र उपमेयर नै नभएपछि पालिकाको बजेट कसरी ल्याउने भन्ने अन्योल भएको हो । पालिकाका प्रमुख तथा उपप्रमुख दुवै जना निलम्बित भएमा कार्यविभाजन कसरी गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था छैन । तर कार्यपालिकाको निर्णयका आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याउन सक्ने मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया