अनसनरत रुवि खानसँग सरकारको पाँच बुँदे सहमति

 असार ११, २०८१ मंगलबार ६:४८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारी वार्ता टोली र अनसनरत रुवी खान नेतृत्वको वार्ता टोलीबीच पाँच बुँदे सहमति भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयमा हिजो भएको वार्तामा खान नेतृत्वको टोलीसँग सरकारी वार्ता टोलीले पाँचबुँदे सहमति गरेको हो ।

बाँकेमा निर्मला कुर्मी र सुमदरानी थारुले ज्यान गुमाएको घटनामा विभिन्न माग राखी खानको नेतृत्वमा अनसन हुँदै आएको थियो । सहमतिपत्रमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धानलाई प्राथमिकताका साथ यसअघि गठित विभिन्न छानबिन समितिका प्रतिवेदनसमेतको अध्ययन/विश्लेषण गरी कानुनबमोजिम निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने उल्लेख छ ।

यस्तै सुमदरानी थारुको घटना सम्बन्धमा बाँके जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएका आरोपितलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन भइरहेका काम कारबाहीमा पीडितलाई कानुनबमोजिम दिन मिल्ने प्रगति ब्यहोरा अद्यावधिक गराइदिन नेपाल प्रहरी प्रधान कार्यालयमार्फत् जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने सहमति भएको छ ।

यस्तै बाँके जिल्ला प्रहरी कार्यालयबाट भइरहेको अनुसन्धानलाई प्रभावकारी बनाउन गर्नुपर्ने सहजीकरण, नियमित सुपरीवेक्षण तथा निगरानी गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई लेखी पठाउने, यसमा आन्दोलनरत पक्ष र निजको परिवारको उचित एवम् प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय, बाँकेमा लेखी पठाउने सहमतिपत्रमा उल्लेख छ ।

सहमतिसँगै आन्दोलन हिजोदेखि नै अन्त्य भएको छ । गृहमन्त्री लामिछानेले जुस खुवाएसँगै खानले अनसन तोड्नुभएको हो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया