झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा मधेसका तत्कालीन अर्थमन्त्रीसहित ५ जना दोषी ठहर

 असार १२, २०८१ बुधबार ७:१९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्लाहीको लालबन्दीमा रहेको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको ठहर भएको छ । यो कार्यक्रममा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार भएको पाइएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले हिजो मधेस प्रदेशका तत्कालिन आर्थिक मामिलामन्त्री विजयकुमार यादव, प्रतिष्ठानका अध्यक्ष रेवती पन्तसहित पाँच जनालाई दोषी ठहर गरेको हो ।

तत्कालीन आर्थिक मामिला मन्त्री यादव र प्रतिष्ठानका अध्यक्ष पन्तसहित महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन् । दुई जनाले सफाइ पाएका छन् । सफाइ पाउनेमा लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।

सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष सङ्कलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरेको थियो ।

कानुनविपरीत प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियतपूर्वक १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोजमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । विशेष अदालतले यो मुद्दामा पाँच जनालाई दोषी ठहर गरे पनि सजाय निर्धारण भने असार २५ को इजलासमा हुनेछ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया