रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ : परराष्ट्रमन्त्री श्रेष्ठ

 असार १२, २०८१ बुधबार ९:०:२० | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न रुस सरकारसँग निरन्तर कुराकानी भइरहेको बताउनुभएको छ । इरानको तेहरानमा भएको एशियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी सङ्गठन 'एशिया कोअपरेशन डाइलग (एसीडी)'का विदेश मन्त्रीहरुको १९औँ बैठकमा सहभागी भई हिजो बेलुका स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले रुसको विदेश मन्त्रालय र सम्बन्धित निकायसँग नेपालीलाई फिर्ताका लागि निरन्तर पहल भइरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले रुसको उपविदेशमन्त्रीसँगको भेटमा पनि आफूले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ताका लागि विशेष चासोका साथ कुराकानी गरेको जानकारी दिनुभयो । उहाँले मस्कोमा रहेको नेपाली राजदूताबासबाट रुसको विदेश मन्त्रालय र अन्य सम्बन्धित निकायसँग समन्वय गरी रुस सरकारसँग कुरा हुँदा कतिपय नेपाली अफ्ठ्यारो स्थितिमा रहेकोसमेत पाइएको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा रहँदा ज्यान गुमाएका नेपालीलाई अन्तिम संस्कारका लागि नेपाल पठाउन आग्रह गरिएको र ज्यान गुमाएका पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको उपचार र उचित क्षतिपूर्ति उपलब्ध गराउन कुराकानी गरिएको पनि जानकारी दिनुभयो ।

रुस र युक्रेन युद्धमा सहभागि छ जना नेपाली युक्रेनको नियन्त्रणमा रहेको जानकारीमा आएको र युद्धबन्दीअन्तर्गत नेपालीलाई प्राथमिकतामा राखेर फिर्ता गर्न भनिएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । सिद्धान्ततः रुस सरकारले सेनामा रहेका नेपाली फिर्ता गर्न सहमति जनाएको तर त्यसको मोडालिटीबारे अझै काम बाँकी रहेको उहाँको भनाइ छ । 

यसैबीच कुवेतले यसै वर्ष नेपालमा दूतावास खोल्ने भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठका अनुसार कुवेतले यसैवर्ष नेपालमा राजदूतावास खोल्ने जानकारी दिएको छ । कुवेतमा झन्डै एक लाख जना नेपाली कामदार कार्यरत रहेका र त्यो सङ्ख्या तीन लाख जनासम्म पुर्‍याउने जानकारी दिएको पनि उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया