पहिरोमा परी कास्कीमा दुई जना बालबालिकाको ज्यान गयो, लमजुङमा तीन घर बगाउँदा चार जना बेपत्ता

 असार १२, २०८१ बुधबार ८:२२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पहिरोमा परी कास्कीमा दुई जना बालबालिकाको ज्यान गएको छ । मादी गाउँपालिका–५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीया छोरी आयुश्मा रानाभाट र पोखरा महानगर–२७ आरुपाटाका हरि सुनारका तीन वर्षका छोरा अनमोल सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गएराति तितेपानीका प्रकाश रानाभाटको घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेकी आयुश्मा रानाभाटको ज्यान गएको हो । हजुरआमा ७० वर्षीया लालमायालाई सकुशल उद्धार गरिएको छ ।

त्यस्तै आरुपाटाका हरि सुनारको घर पुरिँदा छोरा अनमोलको ज्यान गएको हो । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीया रितु सुनार घाइते हुनुभएको छ । उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हरि सुनार र छोरी ९ वर्षकी अञ्जलीको सकुशल उद्धार गरिएको छ ।

यस्तै लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले तीन घर पुरेको छ । पहिरोमा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वर्षासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरेको गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङले जानकारी दिनुभयो ।

पहिरोमा रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र छाेरीहरु पाँच वर्षीया नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिनुभयो । बेपत्ताको खोजी भइरहेको छ । थप विवरण आउन बाँकी छ ।     

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया