बाढी पहिरोका कारण ४२ ठाउँका सडकमा क्षति, चार ठाउँमा अझै अवरुद्ध

 असार १३, २०८१ बिहीबार ९:०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङको उत्तरी क्षेत्रमा पर्ने विकट गाउँ तिप्लिङ आवतजावत गर्ने सडकमा खसेको पहिरो । तस्बिर : शंकर श्रेष्ठ/रासस

काठमाण्डौ – बाढी पहिरोका कारण देशका विभिन्न ४२ ठाउँका सडकमा क्षति पुगेको छ । सडक विभागका अनुसार बाढी पहिरोले अवरुद्ध भएकामध्ये २० ठाउँमा दुईतर्फी नै खुलिसकेको छ । १८ वटा ठाउँमा एकतर्फी रुपमा सञ्चालनमा आएको छ भने चार ठाउँको सडक अझै अवरुद्ध छ । पुष्पलाल मध्य पहाडी राजमार्ग अन्तर्गत पाँचथरको रिजाल भिर र सेरेजामा असार २ गतेदेखि नै सडक अवरुद्ध छ ।

यस्तै कोशी राजमार्ग अन्तर्गत संखुवासभाको समाटारमा असार ६ गतेदेखि र तमोर करिडोरमा पर्ने मोरङको चतरा बराह क्षेत्रमा असार १२ गतेदेखि सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक पनि वर्षाका कारण पहिरो खसेर पटक–पटक अवरुद्ध हुँदै आएको छ । हिजो दिउँसो पनि इच्छाकामना गाउँपालिका–६ जलबिरेमा पहिरो खसेपछि केही समय सडक अवरुद्ध भएको थियो । राजमार्गसँग जोडिएका सहायक मार्ग बढी विस्तार भएको र ती सडकमा पानी परेपछि पहिरो खसेर सडकमा क्षति पुग्ने गरेको छ ।

सडक अवरुद्ध भएको सूचना आउनेबित्तिकै खुलाउनका लागि आवश्यक जनशक्ति र मेसिन स्थानीय प्रशासनसँगको समन्वयमा परिचालन गर्ने गरिएको विभागले जनाएको छ । नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन दुई ठाउँमा उपकरण तयारी अवस्थामा राखिएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पाँच किलो भन्ने ठाउँमा लोडर तयारी अवस्थामा राखिएको छ । नारायणगढबाट २१ किलोमिटर मुग्लिनतर्फ मौरी पुलमा स्काभेटर र लोडर राखिएको छ । यो सडकखण्ड ३६ किलोमिटर लामो छ ।

सडक कार्यालयले गरेको अध्ययन अनुसार यो सडकको २५ ठाउँ पहिरोको जोखिममा छन् । तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्र पहिरोको उच्च जोखिममा छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया