सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन नेताहरु सकारात्मक

 असार १४, २०८१ शुक्रबार ९:१८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन मुख्य तीन दलका शीर्ष नेता सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको बैठकपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउनुपर्छ भन्ने विषयमा शीर्ष दलका नेताहरु एकमत रहेको बताउनुभयो ।

विधेयकका जुन–जुन बुँदामा विगतमा सहमति जुट्न सकेको छैन ती विषयमा सहमतिमा पुर्‍याएर टुङ्ग्याउने भन्नेमा नेता एकमत भएका उहाँको भनाइ छ । शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा केन्द्रित बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई कसरी अगाडि बढाउने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी चाँडो टुङ्ग्याउने भन्ने विषयमा छलफल केन्द्रित रहेको मन्त्री गिरीले जानकारी दिनुभयो ।

उहाँले खासगरी मेलमिलापका सन्दर्भमा पीडित पक्षको स्वतन्त्र सहमति, गम्भीर मानवअधिकार उल्लङ्घन र मानवअधिकार उलङ्घनको विषय, बालसेनामा भर्ती भनिएकाका विषयमा छलफल गरेर समान दृष्टिकोण बनाउनुपर्ने स्थिति रहेको बताउनुभयो । द्वन्द्वका बेला पीडित भएकालाई कसरी क्षतिपूर्ति दिनेलगायत विषयमा छलफल हुन बाँकी रहेको उहाँको भनाइ छ ।

यसअघि कांग्रेस र माओवादी गठबन्धन सरकारले अघि बढाउन खोजेको विधेयकमा पीडितलाई केन्द्रमा राखेर मात्रै सहमति जुटाउनुपर्ने भन्दै एमालेले प्रस्तावित विधेयकका प्रावधानमा केही असहमति राख्दै आएको थियो । प्रधानमन्त्रीले समीकरण बदलेसँगै एमाले सकारात्मक बनेको छ । शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउन तत्काल कानुनी प्रबन्ध गर्ने, पीडितलाई केन्द्रमा राखी तथ्यका आधारमा सत्य स्थापित गर्ने, सत्यका आधारमा न्याय, क्षतिपूर्ति, परिपूरण, माफी र मेलमिलापका माध्यमबाट द्वन्द्व–सिर्जित पीडाको सम्बोधन गर्ने गरी विधेयक अघि बढाउन गठबन्धन सरकारमा रहेका दलको सहमति छ ।

विधेयकलाई अन्तिम रूप दिन कार्यदल गठन गर्ने मुख्य दलको तयारी छ । हिजोको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेता सहभागी थिए । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया