माध्यमिक तहमा गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सांसदकाे माग

 असार १४, २०८१ शुक्रबार १५:६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले विद्यालयहरूमा गणित र विज्ञान शिक्षक पाउन छोडिसकेको बताउनुभयो । उहाँले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा पनि सबैभन्दा बढी गणित विषयमा विद्यार्थी अनुत्तीर्ण भएको भन्दै गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको विशेष रूपले व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

हिजो प्रकाशित एसईईको नतिजाअनुसार गणित, विज्ञान र अङ्ग्रेजी विषयमा सबैभन्दा धेरै विद्यार्थी 'ननग्रेडिङ' मा परेका छन् । परीक्षा दिएकामध्ये गणितमा ३८ प्रतिशत, विज्ञानमा २७ प्रतिशत र अङ्ग्रेजीमा २१ प्रतिशत विद्यार्थी 'ननग्रेड' मा परेका हुन् । गएको वर्ष पनि गणितमा झन्डै ४१ प्रतिशत विद्यार्थीले सबैभन्दा कमजोर 'डी' र 'ई' ग्रेड ल्याएका थिए ।

सधैँका परीक्षामा गणितपछि विज्ञान र अङ्ग्रेजीमा कमजोर ग्रेड प्राप्त गर्ने क्रम चलिरहेको भए पनि सुधार्नका लागि शिक्षा मन्त्रालयलगायत सरकारका कुनै पनि निकायले स्पष्ट योजना ल्याएको देखिँदैन । २०७५ सालमा सरकारले नै गरेको सर्वेक्षणमा ७१ प्रतिशत माध्यमिक विद्यालयमा मात्रै गणित, विज्ञान र अङ्ग्रेजी विषयका विषयगत शिक्षकको दरबन्दी रहेको पाइएको थियो । तर छ वर्षसम्म सरकारले एउटै शिक्षक दरबन्दी थप गर्न सकेको छैन ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया