एसईई नतिजाप्रति सांसदहरू असन्तुष्ट, ‘विद्यार्थी हाेइन सरकार फेल भएकाे हाे’

 असार १४, २०८१ शुक्रबार १७:५७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाका सांसदहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतिशतभन्दा धेरै विद्यार्थी फेल भएको विषयमा गहन अध्ययन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाकाे आजकाे बैठकको विशेष समयमा बोल्दै सांसदहरूले एसईईको नतिजाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सांसदहरूले धेरै विद्यार्थी अनुत्तीर्ण (फेल) हुनुमा सरकारकै दोष रहेको बताएका छन् ।

बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) की सांसद रोशन कार्कीले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको टिप्पणी गर्नुभयो । उहाँले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयाे, ‘हिजो प्रकाशित एसईईको परिणामले हाम्रो अगाडि ठूलो प्रश्न चिह्न खडा गरेको छ । ५२ प्रतिशत असफल हुनु भनेको यो राष्ट्र नै असफल हुनु हो । शिक्षा प्रणाली नै असफल हुनु हो । सरकार असफल हुनु हो । शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँछु । ५२ प्रतिशत विद्यार्थीको मनस्थिति कस्तो भयाे होला ? यसमा शिक्षा मन्त्रालय गम्भीर हुनुपर्छ, यसको बारेमा अध्ययन गर्नुपर्छ । विद्यालयको कमजोरी हो कि ? शिक्षा नीतिको कमजोरी हो कि ? विद्यार्थीहरू आफैँको कमजोरी हो कि ? अध्ययन गरेर जरो पत्ता लगाऔँ ।’

त्यस्तै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुत्तीर्ण भएका हुन् कि सरकार अनुत्तीर्ण भएको हो भनी प्रश्न गर्नुभयो । उहाँले शिक्षामा गुणस्तरीयता नभएका कारण यस प्रकारको परिणाम आएको बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो ? सरकारका असफलताका कारणले विद्यार्थीहरूलाई अयोग्य ठहराइयो । सरकारले गुणस्तरीयता वृद्धि गरेर धेरै विद्यार्थीहरूलाई पास गर्न लाग्नुपर्थ्याे । ५२ प्रतिशत विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो ? सरकारले २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीलाई तिमी अयोग्य हौ, तिमी पढेर खान सक्दैनौ, उच्च शिक्षा पढ्ने तिम्रो हैसियत छैन भनेर घोषणा गर्न मिल्छ ? सरकारले नागरिकलाई त्यसरी अयोग्य घोषणा गर्न सक्छ ? शिक्षामा गुणस्तरियता नभएकोले यस्तो भएको हो ।’

बैठकमा सांसदहरूले गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको विशेष व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । हिजो प्रकाशित एसईईको नतिजाअनुसार परीक्षा दिएकामध्ये गणितमा ३८ प्रतिशत, विज्ञानका २७ प्रतिशत र अङ्ग्रेजीमा २१ प्रतिशत विद्यार्थी 'ननग्रेड' मा परेका छन् ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरू अनुत्तीर्ण हुनुको कारणबारे अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो ।उहाँले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने भनी प्रश्न गर्नुभयो ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया