आज असार १५–राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, चितवनको बछौलीमा विशेष कार्यक्रम

 असार १५, २०८१ शनिबार ६:५७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यसपाली २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । यस वर्ष 'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नारा तय गरिएको छ ।

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवम् उपलव्ध प्रविधिको प्रचार प्रसार गरी किसानमाझ पुर्‍याउने उदेश्य छ । यसले धानको उत्पादन एवम् उत्पादकत्व बढाउन भूमिका खेल्ने सरकारको विश्वास छ ।

सरकारले धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आज चितवनको बछौलीमा विशेष कार्यक्रम नै गर्दैछ । विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि सहभागी हुनुहुनेछ ।

त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद् नार्कले ललितपुरको खुमलटारमा र राष्ट्रिय किसान आयोगले काभ्रेमा कार्यक्रमको आयोजना गरेको छ । धान उत्पादन हुने जिल्लामा पनि विभिन्न कार्यक्रम गरिँदैछ ।

धान रोपाइँसँगै आज दही च्यूरा पनि खाने गरिन्छ । प्रमुख खाद्यान्न बाली धानलाई खाद्य सुरक्षाको प्रमुख आधार मानिन्छ । नेपालमा धानको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व छ । यो वर्ष भन्डै १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने सरकारी अनुमान छ । धानको उत्पादन बढाउन किसानलाई मनसुनले साथ दिनुपर्छ ।

त्यस्तै आवश्यक रासायनिक मल र प्रविधि पनि सहजरुपमा पाउनुपर्छ । तर सरकारले मलको अभाव नरहेको बताए पनि किसानले पर्याप्त रूपमा पाउन नसकेको गुनासो गरेका छन् । सीमा क्षेत्रका कतिपय किसानले भारतबाट मल किनेर धानको रोपाइँ गर्दैछन् । भारतबाट मल भित्र्याउन सहज भने छैन । एकातिर सीमा सुरक्षा बलले रोक्ने अर्कोतिर महङ्गो तिर्नुपर्ने बाध्यता छ । बर्सेनि मुख्यबाली धानसहित अरू खेतीका लागि झन्डै छ लाख मेट्रिक टन मल आवश्यक पर्छ ।

धानबालीका लागि झन्डै दुई लाख ५० हजार मेट्रिक टन आवश्यक पर्ने अनुमान छ । सरकारी अनुदानको मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले खरिद–बिक्री गर्दै आएका छन् । सरकारले अनुदानको मलकै लागि चालू आर्थिक वर्षमा झन्डै ३० अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

धानबालीको मुख्य सिजन अहिलेका लागि चाहिने आवश्यक मल पुग्दो नै रहेको तर वितरणमा केहि समस्या भए पनि त्यसलाई सहज बनाउने प्रयास भइरहेको कृषि मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठले बताउनुभएको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया