गुल्मी, बागलुङ र स्याङजामा पहिरोमा परी ९ जनाको ज्यान गयो, दुई जना घाइते

 असार १५, २०८१ शनिबार १०:२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – गुल्मी, बागलुङ र स्याङजामा पहिरोमा परी नौ जनाको ज्यान गएको छ । गुल्मीमा पाँच, बागलुङ र स्याङजामा दुई/दुई जनाको ज्यान गएको हो । गुल्मीमा एकै परिवारका पाँच जना पहिरोमा पुरिएकोमा सबैको शव भेटिएको छ ।

मालिका गाउँपालिका वडा नम्बर–६ अर्जेको कँडेलपाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा ५६ का भेषबहादुरसहित उहाँकी श्रीमती ४७ वर्षीया सुन्तली बिक, बुहारी ३० वर्षीया सिता बिक, नातिनीहरु सात वर्षीया सपना विक र दुई वर्षीया विपना बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो ।

यस्तै बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ । गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती विकको ज्यान गएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

यस्तै स्याङ्जामा पहिरोमा परेर आमाछोरीको ज्यान गएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेमा गएराति पहिरोले घर पुर्दा सुतिरहेका ३१ वर्षीय दुर्गा जि.टी. र उहाँकी तीन वर्षकी छोरी निकिसा जि.टी.को ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । जिटीको ढुङगा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको हो । घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रुपमा क्षति भएको प्रवक्ता रानाले बताउनुभयो ।

यसैबीच दाङमा चट्याङले लागेर एक महिलाको ज्यान गएको छ । राजपुर गाउँपालिका– २ मटेरीयाकी ३९ वर्षीया भुमिसरा बुढामगरको चट्याङ लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । हिजो बेलुका आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भुमिसरालाई उपचारका लागि लमही अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया