काठमाण्डौको पचली भैरवको १२ वर्षे खड्ग सिद्धि जात्रा आज सकिँदै

 असार १५, २०८१ शनिबार १०:२३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको पचली भैरवकोे १२ वर्षे खड्ग सिद्धि जात्रा आज सकिँदैछ । हरेक १२ वर्षमा विजया दशमीका दिनदेखि शुरु भएर भलभल अष्टमीका दिन खड्ग सिद्धि जात्रा समापन हुने परम्परा अनुसार अबको १२ वर्षको लागि यो जात्रा आज समापन हुन लागेको हो ।

आज तान्त्रिक नाच दिनभर काठमाण्डौको भोछेँ ननीमा देखाएपछि सिजाः खुवाउने परम्परा छ । यसरी सिजा खुवाए भोछेँ ननीमा देवगणको मृत्यु हुने नाचका गुरु भरत मालीले बताउनुभयो । त्यसपछि विधिपूवर्क पूजा गरिसकेपछि मृतक देवगणलाई बोकेर मरुटोलमा रहेको काष्ठमण्डप अगाडि विशेष प्रकारले बाजा बजाएर पानी खुवाउने गरिन्छ ।

त्यसपछि देवगणलाई पचली भैरवको देव घर ज्यावहालमा पुर्‍याइनेछ भने ज्याबहालमा पुर्‍याएका देवगणलाई पुनः मान्छे मर्दा बजाइने बाजा, सिबाजा बजाएर टेकुमा रहेको पचली भैरवस्थानमा लगेर परम्परागत विधिअनुसार पूजा गरिसकेपछि देवगणले लगाउने मुकुण्डोलाई टेकु दोभानमा लगेर जलाएसँगै १२ वर्षे जात्रा सम्पन्न हुने गर्छ । यसपटकको १२ वर्षे जात्राको तान्त्रिक नाच काठमाण्डौको वटु, मरु, इन्द्रचोक, हनुमानढोका, टोखा, ललितपुरलगायतका विभिन्न ठाँउमा प्रर्दशन गरिएको नाचका गुरु मालीले बताउनुभयो ।

यसैबीच हरेक वर्ष जस्तै भक्तपुरमा आज बेलुकी नवदुर्गा देव गणले जलसमाधि लिन लागेका छन् । आजका दिन चार महिनाको लागि देवगणले ब्रम्हायणी कुण्डमा गएर जलसमाधि लिने परम्परा छ । जलसमाधि लिएपछि आँउदो दशैसम्म भक्तपुरमा नवदुर्गा देवगणको हुँदैन र बडादशैको प्रतिपदादेखि महानवमीसम्म हरेक दिन एक/एक देवीको उत्पत्ति हुने गर्छ ।

यसैबीच काठमाण्डौ साँखुको बज्रयोगिनी देवीको १२ वर्षे कलेवर फेर्ने कार्य शुरु भएको छ । बुधबार न्यास साधन गरेर कलेवर फेर्ने कार्य शुरु भएको हो । देवीको न्यासलाई कलशमा सारेर मूर्तिलाई ममर्त संभार गरिनेछ । कलेवर फेर्ने अवधिभर अर्थात् भाद्र २० गतेसम्म बज्रयोगिनीको मन्दिर बन्द रहनेछ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया