सिक्किम सरकार नेपालसँग सबै विषयमा सहकार्य गर्न तयार छ : लाेकसभा सदस्य सुब्बा

‘पाक्युङ—काठमाण्डाै हवाई उडान चाँडै सञ्चालनमा आउँछ’

 असार १५, २०८१ शनिबार १५:३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतको सिक्किम क्रान्तिकारी मोर्चा, सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले नेपालसँग सबै विषयमा सहकार्य गर्न तयार भएको बताउनुभएको  छ ।

लोकसभामा नेपाली भाषामा शपथ ग्रहण गरेसँगै चर्चामा आउनुभएका सुब्बाले सिक्किम सरकार नेपालसँग हवाई, सडक सञ्जाल, आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध विस्तारका लागि प्रयत्न गर्न तयार रहेको बताउनुभएको हो । उहाँले पाक्युङ–काठमाण्डाै हवाई उडान शुरु गर्नका लागि आवश्यक अध्ययन भइरहेको र चाँडै नै उडान शुरु हुने बताउनुभयो । उहाँले पाक्युङ–काठमाण्डाै उडान शुरु भएमा पर्यटन र अन्य क्षेत्रहरूमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लोकसभा सदस्य सुब्बाले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आएपछि नेपाल र सिक्किम सीमानाको चिवा भञ्ज्याङ नाका खोल्न पहल गरिरहेको पनि बताउनुभयो । उहाँले नाका सञ्चालनले नेपाल र सिक्किमबीच आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध विस्तार हुने उल्लेख गर्नुभयो । चिवा भञ्ज्याङसम्मकाे सडकलाई प्रमुख सडकका रूपमा विकास गरी नाकालाई करिडोर बनाउने कामको प्रस्ताव अघि बढिसकेको जानकारी दिँदै सुब्बाले यसले दुवै देशलाई फाइदा हुने पनि बताउनुभयो ।

भारतीय लोकसभाका सदस्य सुब्बाले भारतमा नेपालीभाषी धेरै रहेको र यसमा आफूहरूलाई गर्वको महशुस हुने बताउनुभयो । उहाँले आफूले बोल्ने भाषमा नै शपथ ग्रहण गर्न पाउनु आफ्ना लागि ठूलो सौभाग्य भएको पनि उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया