एकीकृत समाजवादीको महाधिवेशन काठमाण्डौमा शुरु, प्रधानमन्त्री प्रचण्डसहितका नेताहरूले शुभकामना दिँदै

 असार १६, २०८१ आइतबार १५:२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु भएको छ । काठमाण्डौकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गर्नुभएको छ । उद्घाटनअघि नेताहरूसहितको र्‍याली निस्किएको थियो ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, चित्रबहादुर केसी, उपेन्द्र यादव, डाक्टर सीके राउत, रञ्जिता श्रेष्ठ लगायत राजनीतिक दलका शीर्ष नेताहरू पुग्नुभएको छ । उहाँहरूले एकीकृत समाजवादीलाई शुभकामना दिने कार्यक्रम छ ।

यही असार २० गतेसम्म चल्ने महाधिवेशनमा देशभरिबाट एक हजार आठ सय ४७ जना प्रतिनिधि आएका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताउनुभयो । २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको पार्टीकै निरन्तरताका रूपमा १० औँ महाधिवेशन आयोजना गरिएको उहाँको भनाइ छ ।

झन्डै तीन वर्षअघि एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । पार्टीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजसमेत तयार भइसकेको जानकारी दिनुभएको छ ।

पार्टी विधानअनुसार केन्द्रीय कमिटी दुई सय ९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना र पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिने पार्टीले जनाएको छ ।

तस्बिर : नेत्री रामकुमारी झाँक्रीकाे फेसबुकबाट

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया