महिनाको १५ दिन पाँचतारे होटलमा गएर खाने नेताहरूले समाजवाद ल्याउन सक्दैनन् : सीके राउत

 असार १६, २०८१ आइतबार १८:१२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले झन्डै २१ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको देशमा महिनाको १५ दिन पाँचतारे होटलमा खाना खाने नेताहरूले समाजवाद ल्याउन नसक्ने बताउनुभएको छ ।

आज काठमाण्डाैमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरूले म समाजवादी हुँ भन्न नसुहाउने बताउनुभयो । उहाँले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरू समाजवादी हुन नसक्ने टिप्पणी गर्नुभयाे । अध्यक्ष राउतले नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरू समाजवादी हुन नसक्ने उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘हामी समाजवादका कुरा गर्दछौँ । झन्डै २१ प्रतिशत जनता गरिबीकाे रेखामुनि बाँचिरहेकाे देशमा म महिनाको १५ दिन जति पाँच तारे होटलमा गएर खाना खान्छु भने म आफूलाई समाजवादी भन्ने कि नभन्ने ? कर्णालीमा मान्छे बिरामी हुँदा खाने कुरा हुँदैन, नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन् भने म महँगो अस्पतालमा उपचार गराउँछु, विदेशमा गएर उपचार गराउन चाहन्छु भने म समाजवादी हो कि होइन ? म एकातिर रोजगारी दिने कुरा गर्दछु, अर्कोतिर कसरी युवालाई विदेश पठाउने भनेर लाखौँको सङ्ख्यामा सम्झौता गर्दछु भने म समाजवादी हो कि होइन ?’

अध्यक्ष राउतले समाजवादी बन्न हुनुपर्ने मापदण्ड नेताहरूले पालना गर्न नसकेको बताउनुभयो ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया