मनसुन थप सक्रिय भएकाले बिहीवारसम्म सावधानी अपनाउन आग्रह

 असार १७, २०८१ सोमबार ६:२५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : मौसम पूर्वानुमान महाशाखा

काठमाण्डौ – देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । ठूलो वर्षा भइरहेका बर्दिया, कास्की, उदयपुर लगायतका ठाउँका खोला र नदीमा अहिले बाढी आएको छ । यस्तै बाराको सिमरा, रतनपुरी, निजगढ, कोब्ली, कलैया र आसपासको क्षेत्रमा ठूलो पानी परिरहेकाले दुधौरा, पसाह, लाल बकैया लगायत क्षेत्र भई बहने अरू खोलाको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनुहुनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

उदयपुको सुन्दरपुर वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेकाले त्रियुगा खोलाका साना सहायक नदीमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यसैबीच मनसुनी प्रणाली झनै सक्रिय हुने भएकाले आउँदो बिहीवारसम्म सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार न्यूनचापीय रेखा नेपालको दक्षिणी भूभाग, सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएको हो । मनसुन थप सक्रिय भई आउँदो बिहीवारसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ ।

बिहीवारसम्म देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको आंकलन गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा मेघ गर्जन, चट्याङसहित मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ठूलो पानी पर्न सक्ने र यसअघिबाट पनि पानी परिरहेका ३४ जिल्लालाई महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ ।

महाशाखाका अनुसार कोशीका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा उच्च जोखिममा छन् । यसैगरी बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा, गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङमा पनि उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा  र रुकुम पूर्वमा पनि उच्च जोखिम रहेको छ । ठूलो पानी पर्ने ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया