हार्दिक पान्ड्या बने विश्वको नम्बर एक टी–२० अलराउन्डर

 असार १९, २०८१ बुधबार १८:२९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – भारतीय क्रिकेट टिमका सदस्य हार्दिक पान्ड्या टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा आइपुगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हार्दिक २ स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । भर्खरै सकिएको टी–२० विश्वकप क्रिकेटमा भारतले उपाधि जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रतियोगिताभरि १ सय ४४ रन बनाउँदै ११ विकेट लिएका थिए ।

हार्दिक श्रीलङ्काका वानिन्दु हसरङ्गालाई पछि पार्दै विश्वको नम्बर एक टी–२० अलराउन्डर बनेका हुन् । उनी टी–२० वरीयतामा नम्बर एक अलराउन्डर बन्ने पहिलो भारतीय खेलाडी हुन् । हसरङ्गा दोस्रो स्थानमा रहँदा अस्ट्रेलियाका मार्कस स्टोइनिस १ स्थान सुधार गर्दै तेस्रो स्थानमा छन् ।

टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा, भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा र इङ्गल्यान्डका फिल साल्ट तेस्रो स्थानमा यथावत् छन् ।

यसैगरी टी–२० बलिङ वरीयतामा इङ्गल्यान्डका आदिल रशिद शीर्ष स्थानमा यथावत् रहँदा दक्षिण अफ्रिकाका एनरिच नोर्ट्जे ७ स्थान सुधार गर्दै दोस्रो स्थानमा आइपुगेको छ । यस्तै श्रीलङ्काका वानिन्दु हसरङ्गा तेस्रो स्थानमा यथावत् छन् ।

वरीयतामा नेपाली खेलाडीकाे स्थान भने खासै तलमाथि भएकाे छैन ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया