सर्वोच्चको आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थप लम्बिने

 असार २२, २०८१ शनिबार ९:६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – सर्वोच्च अदालतको आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थप लम्बिने भएको छ । हिजो न्यायाधीहरु सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले मुद्दाको फैसला नभएसम्मका लागि यसअघिको अन्तरिम आदेश निरन्तर हुने निर्णय सुनाएपछि नियुक्ति प्रक्रिया लम्बिने भएको हो ।

यसअघि असार १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दोस्रो सुनुवाइ नभएसम्मका लागि भन्दै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सिफारिस समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । हिजोको अर्को आदेशपछि यसअघि भएको खारेज प्रक्रिया बदर गरेर पुरानै प्रक्रियालाई निरन्तरता दिँदै अघि बढाउनुपर्ने भएको छ ।

अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, व्यवसायी सन्तोषनारायण श्रेष्ठ र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँलाई सर्ट लिस्टमा छानेको थियो ।

यसमा समितिले दुई पटक अन्तर्वार्ता गर्दा मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै उपस्थित भएका थिए । धितोपत्र ऐनअनुसार सिफारिस समितिले कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएपछि अर्थ मन्त्रालयले प्रक्रिया नै खारेज गरेर नयाँ समिति गठन गरेपछि आकाङ्क्षीमध्ये सन्तोषनारायण श्रेष्ठले पुरानै प्रक्रियाअनुसार सिफारिस हुनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । पुँजी बजारको एक मात्र नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष ६ महिनादेखि रिक्त छ । 

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया