काठमाण्डौका सबै खोला र नदीमा ठूलो बाढी, करिडोर क्षेत्रमा प्रहरी परिचालन

 असार २२, २०८१ शनिबार १५:४४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो शुक्रवारदेखि नियमित परिरहेको पानीका कारण काठमाण्डौका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत मुख्य नदीसहित सहायक नदीहरूमा पानीको बहाव उच्च भएको छ । सडकभरि पानी जम्मा भएको छ । कति ठाउँका नदी किनारासम्मै पानी आइपुग्दा नजिकका केही ठाउँहरू डुबानमा परेका छन् ।

बाग्मती नदी थापाथली र बल्खुको सुकुम्बासी बस्तीमा पसेको छ । भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ ।

भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुर थिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीको सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चार वटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको बताउनुभयो ।

यस्तै अविरल वर्षाका कारण काठमाण्डौ उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् । काठमाण्डाै उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिनुभयो । उहाँले बाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म काठमाण्डौ उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिनुभयो ।

पानी नियमित परिरहेकोले नदीहरूमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ । काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नदी किनारामा रहेका व्यक्तिहरूलाई उच्च सतर्क रहन आग्रह गर्दै बाढीजन्य विपद् परेमा महानगरपालिकाका हटलाइन १६६००१०५५११, ११८० र महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यही असार २१ गतेदेखि २७ गतेसम्मको मौसम पूर्वानुमान गर्दै सबै प्रदेशका धेरै ठाउँहरूमा हल्कादेखि मध्यम र केही ठाउँहरूमा ठूलो पानी पर्ने बताएको छ ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया