नारायणी नदीको बहाव २ लाख क्युसेक नाघेपछि गण्डक नहरका सबै ढोका खोलियो

 असार २२, २०८१ शनिबार १८:१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – देशका धेरैजसो ठाउँमा गएरातिदेखि लगातार ठूलो पानी परिरहेको छ । विशेष गरेर बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबैजसो ठाउँमा ठूलो पानी परिरहेको छ ।

बारा, सिन्धुली, काभ्रे, काठमाण्डौ उपत्यका, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, कास्की, गोरखा, प्युठान, गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पर्वत, म्याग्दी, दाङ, बाँके, बर्दिया, कञ्चनपुरलगायतका जिल्लामा अहिले पनि भारी वर्षा भइरहेको छ ।

२४ घण्टामा सबैभन्दा धेरै पाल्पाको कुमालगाउँमा ४ सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । यस्तै पाल्पाकै जाल्पामा ३ सय ५, स्याङ्जाको मालुङामा २ सय ७७, दाङको लमहीमा २ सय ७१, लमजुङको राइनासमा १ सय ८२, ललितपुरको लेलेमा १ सय ८०, नवलपरासीको डन्डामा १ सय ७१, बाँकेको कुसुममा १ सय ७९ मिलिमिटर पानी परेको छ ।

वर्षासँगै ठाउँठाउँमा बाढीले सतर्कता तह पार गरेको छ । पश्चिम राप्ती, बबई, नारायणी, कालीगण्डकी र कोशी नदीमा बाढी कतै सतर्कता तह र कतै खतराकै तहमा पुगेको छ ।

ललितपुरको खोकनामा बाग्मती नदी, सिन्धुपाल्चोकको नाकोटेमा मेलम्ची र कपिलवस्तुको बनगाईमा कोइली नदी अहिले खतराको तहभन्दा माथि पुगेका छन् । विमलनगरमा मर्स्याङ्दी नदी, चितवनको देवघाट र नारायणी पुलमा नारायणी नदी, भक्तपुरको जगातेमा हनुमन्ते खोला, बाँकेको कुसुममा पश्चिम राप्ती, पर्वतको नयाँपुलमा मोदीलगायतका नदी सतर्कता तहमा पुगेका छन् ।

नारायणी नदीमा पानीको सहत बढ्दै गएर २ लाख क्युसेकभन्दा माथि पुगेको छ । तल्लो तटीय क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । यो बर्खामा अहिलेसम्म नारायणीमा १ लाख क्युसेक पनि नपुगेकोमा आज पानीको सतहले २ लाख क्युसेक नाघेको हो । आज बिहान ६ बजे ८८ हजार ३ सय क्युसेक रहेको पानी दिउँसो २ बजे बढेर २ लाख १८ हजार क्युसेक पुगेको हाे । सुस्ता गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का स्थानीय बढी जोखिममा छन् ।

नारायणी नदीमा पानीको तह ११ मिटर पुग्नुलाई खतराको सङ्केत मानिन्छ । अहिले नारायणीमा पानीको सतह ११ मिटर २१ सेन्टिमिटर रहेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाएको छ । बाढीले सतर्कता तह नाघेपछि भारतसँगको समन्वयमा गण्डक नहरका सबै ३६ वटै ढोका खोलिएको छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया