बाढीमा बगेर कैलाली र कञ्चनपुरमा २ जना बेपत्ता, धेरै परिवार विस्थापित

 असार २४, २०८१ सोमबार १२:३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर आइतवार बेलुकी त्यही ठाउँका १८ वर्षीय अजय राना बेवेपत्ता हुनुभएको छ । नुहाउने क्रममा डुबेर बेपत्ता भएका रानाको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै हिजै कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता हुनुभएको छ । नदीमा माछा मार्न गएको बेला चौधरी डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै कैलाली र कञ्चनपुरका विभिन्न नदी र खोलाको जलसतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना निकालेको छ । गाउँमा बाढी पस्दा कैलाली र कञ्चनपुरका ६ सय परिवार प्रभावित भएका छन् ।

यसैबीच जल तथा मौसम विज्ञान विभागको अत्तरियामा रहेको महाकाली बेसिन फिल्ड कार्यालयले कञ्चनपुरको दोधारा चाँदनीमा यस वर्ष सबैभन्दा बढी वर्षामापन भएको जनाएको छ । महाकाली नदीपारिको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा ५ सय ७३ मिलिमिटर वर्षा मापन भएको छ । धनगढीमा गएको १२ घण्टामा १ सय ८४ दशमलव ७ मिलिमिटर वर्षा मापन भएको छ । अझै पनि धेरै वर्षा हुने पूर्वानुमान गरिएकाले उच्च सतर्कता अपनाउन कार्यालय प्रमुख सञ्जय साहले आग्रह गर्नुभएको छ ।

अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, स्याली, दोदा, चौदरलगायतका नदी र खोलामा जलसतह बढेको छ । वर्षासँगै कैलाली र कञ्चनपुरका होचो भू–भागमा रहेका बस्ती डुबानमा परेपछि धेरै परिवार विस्थापित भएका छन् । डुबानमा परेको कैलालीको भजनी, जानकीनगर क्षेत्रका बासिन्दा अग्लो स्थानमा रहेको हुलाकी राजमार्ग खण्डमा बसेका छन् । कैलालीको कटैनी नदीमा जडान भएको पूर्वसूचना दिने यन्त्र गए रातिको बाढीले बगाएको छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया