पहिरोले अवरुद्ध कर्णाली राजमार्गको कालीकोट खण्ड अझै खुलेन

 असार २४, २०८१ सोमबार १२:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वर्षासँगै आएको पहिरोले अवरुद्ध भएका कर्णाली राजमार्गको विभिन्न खण्डहरू अझै खुलेका छैनन् । कालीकोटको एस मोड र राकाममा गएराति पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

यसअघि शुभकालीका गाउँपालिका–१ गगनेखोला, खाँडाचक्र नगरपालिका–२ हुल्म, शेरीघाट र खाँडाचक्र–४ छेकामा पहिरो जाँदा गएको शुक्रवारदेखि नै राजमार्ग अवरुद्ध भएको छ । पानी पर्ने क्रम नरोकिएकाले अवरुद्ध सडक खुलाउन कठिन भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

वर्षाका कारण कालीकोटमा बिजुलीकाे पोलसमेत ढलेको र यस मोडका धेरै घर बिजुलीविहीन भएका छन् । अहिले पानी पर्ने क्रम कम भएपछि राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन समस्या हुँदा सुर्खेत, नेपालगञ्जदेखि कालीकोट, जुम्ला र मुगु आवतजावत गर्ने गाडी र यात्रु अलपत्र परेका छन् ।

यस्तै वर्षासँगै आएको भलबाढी तथा पहिरोका कारण कच्ची अवस्थामा रहेका खोटाङका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । ग्रामीण सडक अवरुद्ध भएपछि पालिकाहरू राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । जन्तेढुङ्गा, बाराहापोखरी र खोटेहाङ गाउँपालिकाको कच्ची सडक हिलाम्य भएपछि कुनै पनि गाडी सञ्चालन हुन सकेको छैन । केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकालगायतका ग्रामीण क्षेत्रमा पनि झरीले बाटो हिलाम्य हुँदा गाडी सञ्चालन हुन नसकेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङको जानकारी दिनुभयो ।

सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक पनि अवरुद्ध छ । सङ्घीय राजधानी काठमाण्डाै जोड्ने मध्यपहाडी लोकमार्ग भने निरन्तर सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय खाेटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।

२ सय १३ वटा राष्ट्रिय राजमार्गमध्ये बाढी ,पहिरो र अन्य कारणबाट २२ वटा राजमार्ग अवरुद्ध रहेका छन् । १ सय ८ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन् भने ८३ वटा राजमार्ग दुवैतर्फ सञ्चालन भइरहेका सडक विभागले जनाएको छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया