पछिल्लो २४ घण्टामा पश्चिमी क्षेत्रमा अत्यधिक वर्षा, बाढी र पहिरोबाट जनजीवन प्रभावित

 असार २४, २०८१ सोमबार १८:९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – गएको शुक्रवार रातिदेखि अति सक्रिय बनेको मनसुनी वर्षाले पछिल्लो २४ घण्टामा विशेषगरी सुदूरपश्चिम प्रदेशमा क्षति पुर्‍याएको छ । पश्चिमी क्षेत्रमा ठूलो वर्षासँगै डुबान र पहिरोका घटना भएका गृह मन्त्रालयले जनाएको छ ।

कञ्चनपुरको दोधारामा २४ घण्टामै पाँच सय ८८ मिलमिटर वर्षा भएको छ । यो वर्षा नेपालमा बर्षा मापन शुरु भएको ७७ बर्षे इतिहासमा २४ घण्टामा परेको सबैभन्दा धेरै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कञ्चनपुरकै हनुमाननगरमा पाँच सय ५८ मिलिमिटर र सुन्दरपुरमा चार सय नौ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वर्षासँगै आएको बाढीका कारण सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र अछामका बासिन्दा बढी प्रभावित भएका छन् । बाढीका परेर कञ्चनपुरको पुनर्वास नगरपालिका–५, रातोखालीका १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको ज्यान गएको छ । एक जना किशोरी हराइरहेकी छन् ।

यस्तै कञ्चनपुरकै कृष्णपुर नगरपालिका–१, पहरियामा सात महिनाका बालकको घरभित्र पसेको बाढीमा डुबेर ज्यान गएको छ । बेल्डाँडी गाउँपालिका–३, वैवाहका २३ वर्षीय डम्बर चौधरी हराइरहनुभएको छ । सुदुरपश्चिमका पाँच जिल्लामा गरी दुई हजार पाँच सयभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारेको र ३९ जनाको उद्धार गरेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।

यसैबीच आजदेखि मनसुन विस्तारै निष्कृय हुन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब देशका सबैजसो भू–भागमा वर्षा कम हुने विभागको अनुमान छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रूपमा दक्षिणतर्फ सर्दै जान थालेकोले देशको मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ ।

विभागका अनुसार पछिल्लो तीन घण्टादेखि मध्य र पश्चिम क्षेत्रमा वर्षा निकै कम भएको छ । अहिले कोशी, मधेस र बाग्मती प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ । सर्लाही लगायतका जिल्लाका केही ठाउँमा अत्यधिक वर्षा भइरहेको र वर्षा भएका धेरैजसो ठाउँमा भने सामान्य वर्षा नै रहेको विभागले जनाएको छ । लामो समय वर्षा भएकोले सामान्य वर्षामा पनि विपद्का घटना हुनेतर्फ भने सचेत रहन विभागले अनुरोध गरेको छ ।  

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया