नौबिसे–मलेखु खण्डमा पुल बनाउने ठाउँको सडक मात्रै रातमा बन्द हुने

 असार २६, २०८१ बुधबार ६:४४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु खण्डका चार ठाउँमा पुल बनाउने काम हुने भएकाले ती ठाउँका सडक आजदेखि १५ दिनसम्म रातमा बन्द हुने भएको छ । धादिङको गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोला पुलको संरचनामा काम गर्ने गरी राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द गर्न लागिएको नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले जनाएको छ ।

आयोजनाले निकालेको सूचनाअनुसार विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिन्छ । तर गल्छी पनि नौबिसे–मलेखु सडक खण्डमै पर्छ र नौबिसे–मलेखु सडकखण्ड पुरै बन्द हुँदा गल्छीको सडक पनि प्रयोग गर्न मिल्दैन । आयोजना प्रमुख इश्वरबहादुर रिजालकाअनुसार पुलको काम हुने बेलामा नौबिसे–मलेखु पुरै खण्ड बन्द हुँदैन ।

चारवटा पुलमा पालैपालो काम हुने र जुन पुलमा काम हुन्छ, त्योबेला त्यही सडक मात्रै बन्द हुने उहाँको भनाइ छ ।  गणेश खोला, डाङडुङ खोला र खेस्टे खोला गल्छीबाट काठमाण्डौतर्फ पर्छ भने पोखरे खोला पुल गल्छीबाट मलेखुतर्फ पर्छ ।

गणेश खोला, डाङडुङ खोला र खेस्टे खोलाको पुलमा काम हुँदा गल्छी–टोखा वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । पोखरे खोला पुलमा काम हुँदा भने लामो दूरीको यात्रा गर्नेले वैकल्पिक सडक प्रयोग गर्न मिल्दैन । आयोजना प्रमुख रिजालकाअनुसार शुरुमा आजदेखि धार्केको गणेश खोलाको पुलमा काम हुन्छ ।

त्यसपछि डाङडुङ खोला र खेस्टे खोलाको पुलमा काम हुन्छ । अन्तिममा पोखरे खोला पुलमा काम हुन्छ । एउटा पुलमा काम गर्न कम्तिमा दुईदेखि तीन दिनसम्म लाग्न सक्ने रिजालले बताउनुभयो । सडक बन्द भएको बेलामा अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकायलगायतका गाडी भने चल्न सक्नेछन् ।  

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया