बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले तीन वटा उद्योगको बिजुली काट्यो

 असार २६, २०८१ बुधबार ९:३९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेवापतको बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले तीन वटा उद्योगको बिजुली काटिदिएको छ । पटक पटक समय दिँदा पनि बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो ।

प्राधिकरणकाअनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्सको ६० करोड २९ लाख रुपैयाँ र अर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता छ । यो रकममा थप २५ प्रतिशत जरिवानसहितको बिल प्राधिकरणले उद्योगीहरुलाई पठाएको थियो ।

बक्यौता तिर्न नआएमा आज र भोलिमा अरु उद्योगको पनि बिजुली काटिने प्राधिकरणले चेतावनी दिएको छ । पटक पटकका विभिन्न समितिका सुझाव, संसदीय समितिको निर्देशन, प्राधिकरण बोर्ड बैठकको निर्णय लगायतका आधारमा प्राधिकरणले २०७२ सालको माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न एक्सेल सिटसहितको विवरण र टीओडी मिटरको विवरण समेटिएको पत्र पठाएको थियो ।

उद्योगीहरुले प्राधिकरणलाई ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । पछिल्लो समय १५ दिनको समय दिएर बक्यौता तिर्न प्राधिकरणले पत्र पठाए पनि पर्याप्त प्रमाण र तथ्याङ्कविनाको बिल आफूहरुलाई मान्य नहुने उद्योगीहरुले जवाफ फर्काएका थिए ।

प्राधिकरणले दिएको समय अस्ति सोमवार सकिएको छ । हिजो उद्योगीहरुले पत्रकार सम्मेलन गरेर नेपाल विद्युत प्राधिकरणले तर्साउने र धम्काउने काम गरेको भन्दै आपत्ति जनाएका छन् । विद्युत प्राधिकरणले निर्देशक गणेश लुइटेलको संयोजकत्वमा ७ सदस्यीय आन्तरिक महसुल गणना समिति गठन गरेको थियो । समितिले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले पत्र पठाएको हो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया